वीरगञ्ज नाका – १ खर्ब ७४ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात


काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर १ खर्ब ७४ अर्ब ९ करोड रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो । समग्रमा गत आवको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा पाँच थरिका पेट्रोलियम पदार्थ आयात भने १ अर्ब ६ करोडले घटेको छ । सो अवधिमा मूल्यका आधारमा पेट्रोलियम पदार्थको आयात घटे पनि सोबाट प्राप्त हुने राजस्व भने ११ दशमलव ६६ प्रतिशत अर्थात् ७ अर्ब ६४ करोड रुपैयाँले बढेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार कार्यालयले चालु आवको ११ महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट भएको छ । यहाँको राजस्व पेट्रोलियम पदार्थको आयात र सवारीसाधनको आयातमा निर्भर रहेको छ ।

चालु आवको ११ महिनामा पाँच थरिका पेट्रोलियम पदार्थको आयातबाट कार्यालयले ७३ अर्ब १८ करोड रुपैयाँ सङ्कलन गरेको छ । जबकि गत आवको सोही अवधिमा पाँचै थरिका पेट्रोलियम पदार्थको आयातबाट ६५ अर्ब ५४ करोड रुपैयाँ सङ्कलन भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको जेठ मसान्तसम्म ८९ अर्ब ७६ करोड रुपैयाँ मूल्य पर्ने १० लाख ३० हजार २५३ किलोलिटर डिजेल आयात भएको छ । गत आवको सोही अवधिमा भने ९३ अर्ब ६३ करोड रुपैयाँ मूल्य पर्ने ९ लाख २१ हजार २७५ किलोलिटर डिजेलको आयात भएको छ । डिजेल आयातबापत कार्यालयले ४१ अर्ब ३ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छभने गत आवको सोही अवधिमा भने ३६ अर्ब चार करोड रुपैयाँ सङ्कलन गरेको थियो ।

त्यसैगरी, चालु आवको ११ महिनामा ३५ अर्ब ३४ करोड रुपैयाँको ४ लाख १३ हजार ५०४ किलोलिटर पेट्रोल आयात भएको छ । जबकि गत आवको ११ महिनामा ३६ अर्ब ४ करोड रुपैयाँको ३ लाख ६१ हजार ७२७ किलोलिटर पेट्रोलको आयात भएको छ । पेट्रोल आयातबाट कार्यालयले २३ अर्ब ३८ करोड रुपैयाा राजस्व सङ्कलन गर्यो भने गत आवको सोही अवधिमा २० अर्ब ७३ करोड रुपैयाँ सङ्कलन गरेको छ ।

यो नाका हुँदै चालु आवको ११ महिनामा ३३ अर्ब ३५ करोड रुपैयाँको २९ करोड १४ लाख २० हजार २०९ किलोग्राम एलपिजी ग्यास आयात भएको छ । जबकि गत आवको सोही अवधिमा २७ अर्ब ७१ करोड रुपैयाँकोे २५ करोड ७९ लाख ३८ हजार ९७६ किलोग्राम एलपिजी ग्यास आयात भएको छ । ग्यास आयातबापत ६ अर्ब २४ करोड रुपैयाा राजस्व सङ्कलन गर्यो भने गत आवको सोही अवधिमा ग्यास आयातबाट ५ अर्ब १६ करोड रुपैयाँ सङ्कलन गरेको छ ।

वीरगञ्ज नाका हुँदै चालु आवको ११ महिनामा १५ अर्ब ३ करोड रुपैयाँ मूल्यको १ लाख ६७ हजार ३९८ किलोलिटर एटिएफ आयात भएको छ । जबकि गत आवको ११ महिनामा भने १७ अर्ब ११ करोड रुपैयाँ मूल्यको १ लाख ६१ हजार ८९२ किलोलिटर एटिएफ आयात भएको छ । एटिएफ आयातबापत २ अर्ब ३५ करोड रुपैयाँ सङ्कलन गर्न सफल भएको छ । जबकि गत आवको सोही अवधिमा दुई अर्ब ४७ करोड रुपैयाा राजस्व सङ्कलन गरेको थियो ।

यो नाका हुँदै चालु आवको ११ महिनामा ५९ करोड रुपैयाा मूल्य पर्ने छ हजार ७३० किलोलिटर मट्टितेल आयात भएको छ । गत आवको सोही अवधिमा भने ६३ करोड रुपैयाँ मूल्यको ६ हजार १२० किलोलिटर मट्टितेल आयात भएको छ । मट्टितेल आयातबाट १६ करोड रुपैयाँ राजस्व सङ्कलन गर्यो भने गत आवको सोही अवधिमा १६ करोड रुपैयाँ नै राजस्व सङ्कलन गरेको थियो ।

प्रकाशित मिति: ८ असार २०८२, आइतबार  १० : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।