दोहोरो अंकले घटेको सेयर बजार २६०० अंकबाट तल ओर्लियो


काठमाडौँ । मुलुकको आर्थिक अवस्था तथा बहुआयामिक कारणहरुले लगानीकर्तामा उत्साह नहुँदा सेयर बजार निरन्तर ओरालो यात्रामा छ । आन्तरिक मात्र नभई बाह्य कारणहरु इजरायल इरान युद्ध, त्यसमा अमेरिकाको संलग्नता लगायत कारणले पनि बजारलाई प्रभावित बनाएको हो ।

आइतबार सेयर बजार परिसुचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार नेप्से ३२.९३ अंकले घटेर २५९५.९७ अंकमा पुगेको छ । कारोबारमा आएका ३१० कम्पनीका २ करोड १५ लाख ४७ हजार ५५ कित्ता सेयर ८७ हजार ३०२ पटक किनबेच हुँदा ९ अर्ब १४ करोड ५८ लाख ५८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आर्थिक कृयाकलाप सामान्य नहुँदा बैंक वित्तीय संस्थाबाट कर्जा परिचालन हुन नसकिरहेको अवस्था, बैंकको व्याजदर लगायतका कारणले पनि बजारलाई प्रभावित बनाइरहेको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीति आउने मिति नजिकिँदै गर्दा नयाँ गभर्नरले कस्तो नीति अवलम्बन गर्छन् भन्नेमा पनि लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् ।

लगानीकर्ताले बजारमा ठोस सुधारको अपेक्षा गरे पनि नीतिगत अष्पष्टताका कारण बजारले स्थायित्व लिन नसकेको जानकारहरु बताउँछन् । कर्जा परिचालनको अवस्था राम्रो भएपनि बजारमा त्यस्तो कर्जाको रकम नआउँदा बजार सिस्त भएको स्टक ब्रोकर एशोसिएसनका महासचिव भक्तिराम घिमिरे बताउँछन् । बैंकहरुको तथ्यांक अनुसार बजारमा नगद प्रवाह नभएको बताउने उनी बजारबाट लगानी पलायन भएको आभाष व्यक्त गर्छन् ।

आइतबार जोशी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको बजारमा सप्तकोशी डेभलपमन्ट बैंकको सेयर मूल्य ५.६० प्रतिशत, एनआईसी एशिया १० प्रतिशत डेभेन्चर ५.४५ प्रतिशत, गुराँस लघुवित्तको सेयर मूल्य ३.४० प्रतिशत र सिभिल बैंक डेभेन्चरको मूल्य २.९३ प्रतिशतले बढेको छ ।

यता, पियोर इनर्जीको सेयर मूल्य १० प्रतिशतले घटेको बजारमा युनियन हाइड्रोपावरको सेयर मूल्य ६.२४ प्रतिशत, रसुवागढी हाहइड्रोपावरको सेयर मूल्य ५.४८ प्रतिशत, हिमालयन ऊर्जा विकास कम्पनीको सेयर मूल्य ५.३३ प्रतिशत र मध्य भोटेकाशी जलविद्युत कम्पनीको सेयर मूल्य ५.२० प्रतिशतले घटेको छ ।

समूहगत आधारमा हेर्दा सबै उपसुचकमा गिरावट आँउदा होटल तथा पर्यटन समूहमा सबैभन्दा बढी २१७.४२ अंकको गिरावट आएको छ । जीवन बीमा समूह १३५.२३ र जलविद्युत समूह १००.९७ अंकले घटेको छ ।

कारोबार रकमका आधारमा दोर्दी खोला जलविद्युत कम्पनी ७५ करोड ७३ लाख ९७ हजार रुपैयाँ बराबरको कारोबार सहित शीर्ष स्थानमा छ । कारोबारमा आएका सेयर संख्याको आधारमा पनि दोर्दी खोला जलविद्युत कम्पनी २१ लाख ८३ हजार ८२२ कित्ता सेयर कारोबार सहितसहित शीर्ष स्थानमा छ । कारोबार संख्याको आधारमा ४ हजार ३३३ पटकको कोरोबार सहित पियोर इनर्जी शीर्ष स्थानमा छ ।

आइतबारको गिरावटसँगै समग्र बजार पूँजीकरण ४३ खर्ब २५ अर्ब २७ करोड ५ लाख ५९ हजार रुपैयाँ कायम भएको छ ।

 

प्रकाशित मिति: ८ असार २०८२, आइतबार  १७ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।