नेप्से परिसुचकमा सामान्य सुधार, कारोबार रकममा भने गिरावट


काठमाडौँ । सेयर बजार परिसुचक नेप्सेमा सामान्य अंकको सुधार आएको छ । सोमबार नेप्से परिसुचक ८.१३ अंकले बढेर २६०४.११ अंकमा पुगेको हो ।

नेप्से बढेपनि कारोबार रकममा भने गिरावट आएको छ । कारोबारमा आएका ३२५ वटा कम्पनीको १ करोड ७५ लाख ८७ हजार ३६ कित्ता सेयर ७० हजार ८३१ पटक किनबेच हुँदा ६ अर्ब ४७ करोड १९ लाख ५२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार नेप्से परिसुचक ३२.९३ अंकले घटेर २५९५.९७ अंकमा पुग्दा कारोबार रकम ९ अर्ब १४ करोड ५८ लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।

सोमबार सबैभन्दा बढी होटल तथा पर्यटन समूह ६०.५९ अंकले बढेको छ । जलविद्युत समूह १४.८५ अंकले, वित्त समूह १७.०६ अंकले, बैंकिङ्ग समूह २.०६ अंकले र लघुवित्त समूह ०.८६ अंकले बढ्दा अरु सबै उपसुचक राताम्मे देखिएका छन् ।

सोमबार जोशी हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ । पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य ९.४२ प्रतिशत, बरुण हाइड्रोपावरको सेयर मूल्य ५.२७ प्रतिशत, पाँचथर हाइड्रोपावरको सेयर मूल्य ५.१८ प्रतिशत र रादी विद्युतको सेयर मूल्य ४.८६ प्रतिशतले बढेको छ ।

समग्र बजार बढ्दा पनि गुराँस लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेको छ । पियोर इनर्जीको सेयर मूल्य ५.६८ प्रतिशत, दार्दी खोला जलविद्युतको सेयर मूल्य ४.८९ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ३.८९ प्रतिशत, बोट्लर्स नेपालको सेयर मूल्य ३.६३ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा रादी विद्युत कम्पनी ५२ करोड १८ लाख ५९ हजार रुपैयाँ बराबरको कारोबार सहित शीर्ष स्थानमा छ । कारोबारमा आएका इकाई संख्याको आधारमा ङ्यादी ग्रुप ८ लाख ३१ हजार ४८१ इकाईको कारोबार सहित शीर्ष स्थानमा छ । कारोबार संख्याका आधारमा पियोर इनर्जी ७ हजार १६३ पटकको कारोबार सहित शीर्ष स्थानमा छ ।

सोमबारको कारोबार सँगै कुल बजार पूँजीकरण ४३ खर्ब ३३ अर्ब २३ करोड ७५ लाख ७० हजार रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति: ९ असार २०८२, सोमबार  १५ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।