हुम्लाका ५ स्थानीय तहले ल्याए बजेट, २ स्थानीय तह छलफलमै


हुम्ला । सबै स्थानीय तहले असार १० गते बजेट ल्याउनु पर्ने व्यवस्थाअनुसार हुम्लाका ५ गाउँपालिकाले बजेट ल्याएका छन् ।

हुम्लाको सदमुकाम सिमकोटले ६४ करोड ३६ लाख ७० हजार २०३ रुपैयाँको अनुमानित बजेट ल्याएको छ । पुँजीगततर्फ २४ करोड ८ लाख ६९ हजार रुपैयाँ छ भने चालुतर्फ ४० करोड २८ लाख १ हजार २०३ रुपैयाँ रहेको छ ।

क्षेत्रगत रुपमा ल्याएको उक्त बजेटमा आर्थिक विकासमा २४ करोड ८ लाख ६९ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ भने सामाजिक विकासमा १ करोड ९ लाख ५० हजार रुपैयाँ, पुर्वाधार विकासमा १९ करोड ४६ लाख ६९ हजार रुपैयाँ, वन वातावरण र विपद्मा १७ लाख ८० हजार रुपैयाँ तथा सुशासन एवं सङ्गठनमा ७० लाख ३१ हजार रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले बताए ।

नाम्खा गाउँपालिकाले पनि मंगलबार नै बजेट ल्याएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले बताए । उनका अनुसार पालिकाले ३७ करोड ६८ लाख ५० हजार रुपैयाँको बजेट सभाबाट पारित गरेको बताए ।

यस्तै खार्पुनाथ गाउँपालिकाले ४७ करोड ६४ हजार ४९९ रुपैयाँको बजेट गाउँसभाबाट पारित गरेको छ । कुल बजेटमा पुँजीगततर्फ १९ करोड ८१ लाख ५ हजार २६१ रुपैयाँ रहेको छ भने चालुतर्फ २७ करोड ८३ लाख ६४ हजार ४४९ रुपैयाँ रहेको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताए ।

सर्केगाड गाउँपालिकाले आगामी वर्षका लागि ५६ करोड ८३ लाख २९ हजार ६९२ रुपैयाँ बराबरको बजेट ल्याएकोे छ । त्यसमा चालुअन्तर्गत ३७ करोड ३३ लाख ७० हजार ६९२ रुपैयाँ र पुँजीगतअन्तर्गत १९ करोड ४९ लाख ५९ हजार रुपैयाँ विनियोजन गरिएको हो । यसमा कृषि उत्पादन वृद्धि, युवा स्वरोजगार, शिक्षा स्तरोन्नति, विपद् व्यवस्थापन तथा सडक पहुँच विस्तारमा प्राथमिकता दिइएको गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाले बताए ।

यस्तै ताँजाकोट गाउँपालिकामामा आगामी आर्थिक वर्षका लागि ३६ करोड १५ लाख ९२ हजार ९२५ रुपैयाँको बजेट पेस भएको छ ।

गाउँपालिकाका उपाध्यक्ष सुरेन्द्र थापाले गाउँसभामा चालुतर्फ १८ करोड २३ लाख ९३ हजार ९२५ रुपैयाँ र पुँजीगत १७ करोड ९१ लाख ९९ हजार रुपैयाँ विनियोज गरिएका पेस गरेका छन् । आज सभामा पेस गरिएको भए पनि भोलीदेखि निरन्तर गाउँसभाका सदस्यहरुको रायपश्चात् पारित गर्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत समिक्षा अधिकारीले बताए ।

आज सभामा पेस गरेको नीति तथा कार्यक्रम पास भएको भए पनि आगामी आवको बजेट गाउँसभामा पेस भएको बताउँदै गाउँसभामा पेस गरिएकोे अनुमानित बजेटमा पुर्वाधार, शिक्षा र स्वास्थ्यलाई विशेष जोड दिँदै शिक्षामा २ करोड ५० लाख रुपैयाँ, स्वास्थ्यमा ५० लाख रुपैयाँ र पूर्वाधार विकासमा २ करोड विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले बताए ।

गाउँपालिकाले नयाँ कार्यक्रमको रुपमा दलित बस्ती उत्थान कार्यक्रममा ७ वर्षका लागि ३५ लाख रुपैयाँ विनियोजन गरेको छ भने स्थानीय पूर्वाधार कार्यक्रम र गाउँपालिकाको सहलगानिमा हुने कार्यक्रमका लागि २ करोड २ लाख रुपैयाँ विनियोजन गरिएको उनले बताए ।

जिल्लाको तल्लो क्षेत्रमा रहेका अदानचुली गाउँपालिका र चङ्खेली गाउँपालिका बजेटको छलफलमै व्यस्त रहेका छन् । बजेट मङ्गलबार नै ल्याउने तयारी गरिएको भए पनि कार्यपालिकामा सहमति नजुट्दा बजेट ल्याउन नसकिएको बताइएको छ ।

प्रकाशित मिति: ११ असार २०८२, बुधबार  १७ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।