११ महिनामा ९२ करोड रुपैयाँ राजस्व सङ्कलन


काठमाडौँ । बर्दघाट सुस्ता पश्चिम नवलपरासी करदाता सेवा कार्यालय नवलपरासीले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको अवधिमा कुल ९२ करोड ५२ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

चालु आवमा कार्यालयले साउनदेखि जेठ मसान्तसम्म कुल १ अर्ब ३८ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको नवलपरासी करदाता कार्यालयका प्रमुख एवम् कर अधिकृत फर्शुराम पोखरेलले बताए । लक्ष्यअनुरुप राजस्व सङ्कलन गर्न नसके पनि गत वर्षको तुलनामा ५.१३ प्रतिशत बढी राजस्व सङ्कलन भएको उनले बताए ।

संस्थागत आयकर सङ्कलनमा ६५.९५ प्रतिशतले वृद्धि भएको छ भने मूल्य अभिवृद्धि कर सङ्कलनमा १०.८८ प्रतिशतले वृद्धि भएको छ । अन्तःशुल्कतर्फको १०.६९ प्रतिशतले राजस्व सङ्कलन घटेको छ । वस्तु उत्पादनमा कमी आएपछि आन्तरिक शुल्क घटेको हो । आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले १ अर्ब २२ करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य लिएकामा ८८ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको कर अधिकृत पोखरेलले जानकारी दिए। नवलपरासी जिल्लालाई कार्यक्षेत्र बनाएर २०७७ कात्तिक ४ गते स्थापना भएको कार्यालयमा हालसम्म २३ हजारभन्दा बढी करदाता रहेका छन् ।

प्रकाशित मिति: १२ असार २०८२, बिहिबार  ०६ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।