रसुवागढी हाइड्रोपावर नाफामा, भौतिक प्रगति ७८ प्रतिशत मात्रै

0
Shares

रसुवागढी हाइड्रोपावर कम्पनी (RHPL)  घाटाबाट नाफामा पुगेको छ । कम्पनी चालु आवको पहिलो त्रैमासमा ४९ लाख ४९ हजार रुपैयाँ नाफामा पुगेको हो । गत आवको यसै अवधिमा कम्पनी १ करोड ४६ लाख ७६ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।

कम्पनीले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीको सञ्चालन नाफा ७८ लाख ८४ हजार रुपैयाँ ऋणात्मक रहेपनि १ करोड २८ लाख ३३ हजार रुपैयाँ अन्य आम्दानी गर्दा कम्पनी नाफामा पुगेको हो ।

चुक्ता पूँजी ६ अर्ब १५ करोड ७८ लाख ९० हजार रुपैयाँ रहेको हाइड्रोको प्रतिशेयर आम्दानी पनि ०.३२ पैसा रहेको छ । जगेडा कोष १९ करोड ६८ लाख ५८ हजार रुपैयाँले ऋणात्मक छ । कम्पनीको जगेडा कोष नोक्सानी रहेकाले कम्पनीको प्रतिशेयर नेटवर्थ ९६.८० रुपैयाँ छ ।

रसुवाको गोसाईकुण्ड गाउँपालिका १ र २ मा निर्माणाधिन आयोजना १११ मेगावाटको हो । विद्युत खरिद बिक्री सम्झौता (पीपीए) मा उल्लेख भए अनुसार आयोजनाको लागत १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ हुने अनुमान गरिएकोमा विदेशी मुद्रा सटहीदर, प्राकृतिक विपत्ति, र बन्द हड्तालले आयोजनाको लागत बढ्ने वित्तीय विवरणमा उल्लेख छ । साथै पछिल्लो समय कोरोनाको कारण आयोजनाको काम बन्द हुँदा पनि थप आर्थिक भार व्योहोर्नुपर्ने अवस्था देखिएको छ । आयोजना स्थल विकट स्थानमा रहेकाले पहिरोको कारण समेत निमार्ण कार्यमा असर गरिरहेको छ ।

विद्युत उत्पादन सुरु नभएको हाइड्रोको ब्याज आम्दानी शुन्य हुँदा कम्पनी नोक्सानीमा पुगेको हो। चालु आवको तीन महिनामा कम्पनीले ब्याज आम्दानी गरेको छैन । जबकी गत आवको यहि अवधिमा कम्पनीले ४३ लाख ४७ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

यससँगै जनताको जलविद्युतमा सम्मिलित आयोजनामा लगानी गरेका लगानीकर्ताले छिटो लाभांश पाउने समयावधि थप लम्बिएको छ । आयोजनाको भौतिक प्रगति ७८ प्रतिशतमात्र रहेकाले कम्पनीबाट लाभांश पाउने समय पर धकेलिने भएको हो । २०७७ असार मसान्तसम्ममा निर्माण पूरा गर्ने योजना हाइड्रोले बनाएपनि सो अवधिमा आयोजना सम्पन्न हुन त परको कुरा थप भौिितक प्रगति समेत नभएपछि आयोजनाको २२ प्रतिशत निमार्णको काम सम्पन्न हुन चालु आवको अन्त्यसम्म लाग्ने देखिन्छ ।

नेपाल विद्युत प्राधिकरणले आयोजनाको विद्युत हिउँदमा ८ रुपैयाँ ४० पैसा प्रतियुनिट र वर्षयाममा ४ रुपैयाँ ८० पैसा प्रतियुनिटको दरमा विद्युत खरिद गर्ने सम्झौता भैसकेको छ । यसबाट कम्पनीले वार्षिक ३ अर्ब २५ करोड रुपैयाँभन्दा धेरै आम्दानी हुने उल्लेख छ । आयोजना निर्माण भएर पूर्ण रुपमा विद्युत उत्पादन थालेको अवस्थामा हाइड्रोले वार्षिक ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत उत्पादन गर्नेछ ।

आयोजनामा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत साधारण शेयर स्वामित्व रहेको छ। जसमध्ये नेविप्राको १८ प्रतिशत, चिलिमेको ३२.७९ प्रतिशत, रसुवाको स्थानीय तहको ०.२१ प्रतिशत गरि ३ अर्ब ४८ करोड ९४ लाख ७१ हजारको संस्थापक शेयर र सर्वसाधारणका लागि २ अर्ब ६६ करोड ८४ लाख १९ हजार गरि कूल ६ अर्ब १५ करोड ७८ लाख ९० हजारको शेयर स्वामित्व छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।