पर्याप्त वर्षा नहुँदा झापामा ९ प्रतिशत मात्रै रोपाइँ सम्पन्न


भद्रपुर । झापामा पर्याप्त वर्षा नहुँदा असार १५ सम्म ९ प्रतिशत मात्र रोपाइँ संपन्न भएको छ।

पर्याप्त वर्षा हुन नसकेका कारण झापामा रोपाइँ हुन सकेको छैन। अघिल्लो वर्षको यही समयमा ११ प्रतिशत रोपाइँ संपन्न भैसकेकोको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले जानकारी दिएका छन्।

उनले पर्याप्त वर्षा नहुँदा किसानहरूले धूमधामले खेती गर्न नपाएको र मोटर हुने किसानहरूले मात्र सामान्य रूपमा रोपाइँ गरेको जानकारी दिएका छन्।

१ लाख ६० हजार ६ सय हेक्टर क्षेत्रफलमा फैलिएको झापामा खेतीयोग्य जमिन ९८ हजार ७ सय १६ हेक्टर रहेको छ। त्यसमध्ये ७५ हजार ४५९।१८ हेक्टरमा धान खेती हुने गरेको सूचना अधिकारी भण्डारीले जानकारी दिए।

यस पटक समयमा पानी नपर्दा किसानहरूलाई रोपाइँ गर्न समस्या भइरहेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले बताए। यसैगरी झापामा २२ औं राष्ट्रिय धान दिवस हर्षोल्लासका साथ मनाइएको छ।

कृषि ज्ञान केन्द्र झापासहित जिल्लाका १५ वटा स्थानीय तह अन्तर्गतका कृषि विकास शाखाहरूले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी राष्ट्रिय धान दिवस मनाएका छन्।

प्रकाशित मिति: १६ असार २०८२, सोमबार  १० : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।