साझा यातायात सहकारीमा सरकारको ३ अर्ब लगानी, असोजभित्र विद्युतीय बस सञ्चालन गर्ने


साझा यातायात सहकारी संस्थामा नेपाल सरकारले ३ अर्व रुपैयाँ लगानी गरेको छ । सरकारले बुधबार मात्रै संस्थाको तीन अर्ब रुपैयाँ बरावरेको शेयर खरीद गरेपछि असोजभित्र विद्युतीय बस सञ्चालनका लागि बाटो खुलेको हो ।


तीन सय बस खरीद गरेर काठमाडौँ उपत्यकासहित देशभर बस सञ्चालन गर्ने योजना रहेको भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठले बताए ।

धेरैले ‘सरकारले निर्णय मात्रै गरेको काम नगरेको’ भनिरहँदा सरकार कार्यान्वयन गर्न लागिपरेको उनको भनाइ थियो । मन्त्रालयले बस खरीद र सञ्चालन संस्थामार्फत गर्न लागेको हो । उनले भने, “मन्त्रालयले यसमा समन्वयको काम गर्नेछ ।”

मन्त्रालयले विद्युतीय बसका लागि मापदण्ड बनाएको मन्त्री महासेठले जानकारी दिए । उनका अनुसार मन्त्रालयले संस्थालाई मापदण्ड पनि दिइसकेको छ । दुई सरकारबीच सम्झौता (जिटुजी) अनुसार वा खुला प्रतिस्पर्धाअनुसार सार्वजनिक खरीद प्रक्रियाबाट किन्ने उनले बताए । उनले भने, “अरु कुनै पनि खालको बाधा नआएमा असोजमै बस सञ्चालन गर्न सकिनेछ ।”

काठमाडौँ उपत्यका र बाहिर कस्ता बस सञ्चालन गर्ने भन्ने मापदण्डमा तोकिएको छ । बस बालबालिका, ज्येष्ठ नागरिकमैत्री बस हुनुपर्ने तथा उभिने र बस्ने कति ठाउँ हुने भन्ने मापदण्डमा स्पष्ट पारिएको छ ।

मन्त्रालयले रकमसँगै मापदण्ड पनि साझालाई दिएको उनले बताए ।“काठमाडौँ र उपत्यका बाहिर एकनासको बस नहुन सक्छ”, उनले भने ।

विसं २०७४ चैत १८ गते आफूले २५ वर्षदेखि कायम रहेको एकाधिकार अन्त्य गरेसँगै राम्रो बस सञ्चालनको योजना बनाएको उनले बताए । उनका अनुसार एकाधिकारको अन्त्यपछि नै मन्त्रालयलाई वातावरणमैत्री सवारीसाधन सञ्चालनका लागि बाटो खुलेको हो । नेपालीले सूचना प्रविधियुक्त, सजिला र सुविधासम्पन्न बस आउने आशा गरेको र सरकारले त्यसैअनुसार योजना बनाएको उनले बताए ।

अहिले देशभरमा रहेका यातायात व्यवसायीले कम्पनी दर्ता गरेर सवारी साधन पञ्जीकरण गरिरहेको पनि मन्त्री महासेठले बताए । देशभरमा १३७ कम्पनीमार्फत अढाइ लाख सवारीसाधन दर्ता भएका छन् ।

सरकारले यातायात क्षेत्रको सुधारकै लागि यातायात प्राधिकरण गठन गर्ने तयारी गरेको जानकारी उनले दिए । मन्त्रालयले सो विधेयक संसद्मा दर्ता गर्ने तयारी गरेको छ । उनले भने, “विधेयक पास भएर प्राधिकरण दर्ता भएपछि नै यस क्षेत्रमा धेरै सुधार हुनेछ ।”

साझा सहकारी संस्थाका अध्यक्ष कनकमणि दीक्षितले संस्थाले पारदर्शी भएर मन्त्रालयले दिएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले साझा यातायात सरकारको ९९ प्रतिशभन्दा बढी शेयर भएको संस्था हो । सरकारको लगानी भएको संस्थाले नाफा मात्रै हेर्नेभन्दा पनि जनतालाई सुविधा दिने कुरामा ध्यान दिने बताए ।

साझाले नेपालमा यातायात क्षेत्रमा नयाँ शुरुआत गरेको र सबै वर्गलाई समेट्ने कुरामा ध्यान दिएको उनको भनाइ छ ।

संस्थाले ज्येष्ठ नागरिकलाई निःशुल्क यात्रा गराउने तथा विद्यार्थी र अपाङ्गता भएका व्यक्तिलाई १० रुपैयाँ मात्रै भाडा लिने गरेको छ । उनले भने, “अहिले अरु धेरै कम्पनीले पनि संस्थाकै जस्तो ठूला बस सञ्चालन शुरु गरेका छन्, यसले गर्दा यात्रुलाई सुविधा भएको छ ।”