काठमाडौँ । नेपालमा वर्षेनी अर्बाै रुपैयाँको स्याउ आयात हुने गरेको छ । तर स्थानीय किसानहरुले उत्पादन गरेको स्याउ बारीमानै कुहिने गरेको छ । यो विरोधाभासपूर्ण कुराले स्थानीय उत्पादनको प्रवर्धनमा सरकारले ध्यान नदिएको पुष्टि हुने आम किसानहरुको भनाई छ ।
नेपालमा हुम्ला, जुम्ला, कालीकोट, मनाङ, मुस्ताङ लगायतका पहाडी तथा हिमाली जील्लाहरुमा स्याउ उत्पादन हुन्छ । तर चालु आर्थिक वर्षको ११ महिनामा ९ अर्ब ५६ करोड ३५ लाख ७० हजार रुपैयाँको ८ करोड २८ लाख ९६ हजार केजी स्याउ आयात भएको भन्सार विभागले जनाएको छ ।
गत आर्थिक वर्ष ८०/८१ को सोहि अवधिमा ७ करोड ६७ लाख ८७ हजार केजी स्याउ ७ अर्ब ८५ करोड ४९ लाख ११ हजार रुपैयाँमा आयात भएको थियो ।
सरकारले आवश्यक सहयोग चासो नदिएको र स्थानीय ताजा उत्पादनलाई उपेक्षा गरेको कारणले गर्दा आफ्नो उत्पादन बारीमै कुहिएको र विदेशी स्याउ आयात हुने गरेको हुम्लाका स्थानीय किसान नरेश बोहोराको गुनासो छ । उनी भन्छन्, “स्याउ राम्रै उत्पादन हुन्छ तर हामीसँग भण्डारणको लागि कोल्ड स्टोर छैन । फल त केहि दिनमा कुहिएर जान्छ । हामीलाई ढुवानीको पनि समस्या छ यी कारणहरुले गर्दा हाम्रो उत्पादन खेर गएको छ । यसरी उत्पादन उत्पादन बर्बाद हुँदा आम्दानी पनि हुँदैन । बजारमा विदेही स्याउ देखिन्छ, हामीले किन्नैपर्छ भने जस्तै लाग्छ । आम सर्वसाधारणले पनि विदेशी नै राम्रो हुन्छ भन्ने सोच्छन ।”
अघिल्लो आर्थिक वर्ष ७९/८० को तुलना अवधिमा ७ करोड ९५ लाख ९० हजार ६३८ केजी स्याउ ६ अर्ब ६७ करोड ५२ लाख ६७ हजार रुपैयाँमा आयात गरिएको भन्सार विभागको तथ्यांकमा उल्लेख गरिएको छ सरकारले कोल्ड स्टोर ढुवानी लगायत व्यवस्था गरिदिएमा उत्पादन दोब्बर बढ्ने र आयात प्रतिस्थापन गर्न सकिने किसानहरुको भनाई छ । यसरी उत्पादनका बाबजुद उचित सहयोग नपाउँदा आफ्नो मिहेनत कुहाउन आम किसानहरु बाध्य भएका छन् । सरकार र सम्बन्धित निकायहरुले किसानको आवाज सनेर तत्काल सुधारका कदम चाल्न जरुरी छ । यसो भएमा आम किसानहरुको आय स्तर बढ्दे र राज्यको विदेशी मुद्रा पनि जोगिने अवस्था सिर्जना हुन्छ ।










प्रतिक्रिया