सरकारी कर नीतिको विरोधमा सुनचाँदी व्यवसायी, कहिले सकिन्छ आन्दोलन ?


काठमाडौँ । पछिल्लो समय सुनचाँदी व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । सरकारले आगामी बजेट (आर्थिक वर्ष २०८२/८३) मार्फत् सुनमा २ प्रतिशत विलासिता कर र हिरालगायत रत्न तथा पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको विरोधमा सुनचाँदी व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् ।

सरकारले बजेटमार्फत सुनचाँदीका गहनामा विलासिता कर लागू गर्ने निर्णय गरेपछि आन्दोलनले उग्ररूप लिएको हो । व्यवसायीहरूले यो तुरुन्त खारेजीको माग गर्दै अनिश्चितकालीन व्यापार बन्दको घोषणा गरेका छन् । यसअघि सरकारले व्यवसायीहरूसँग गरेको छलफलमा कर नलगाउने वा समायोजन गर्ने संकेत दिइए पनि बजेट संसद्मा पास हुने क्रममा सो माग बेवास्ता गरिएको भन्दै पुनः आन्दोलन गरेको महासंघले जनाएको छ ।

सरकार र सुनचाँदी व्यवसायीहरूबीच छलफल भइरहेको छ । छलफलमा सहमतिको प्रयास त भएको छ तर, निष्कर्षमा भने नपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष माणिकरत्न शाक्य बताउँछन् ।

सरकारले माग पुरा हुन्छ भने आश्वासन दिए पनि विलासिता कर नहटेसम्म आन्दोलन जारी नै रहने उनी बताउँछन् ।
व्यवसायीहरूले आफ्नो पसलमा ‘विलासिता कर खारेज गर’, ‘हाम्रो माग पुरा गर’ भन्ने जस्ता नारा अंकित व्यानर टाँसिरहेका छन् । विरोध स्वरूप याली, जुलुस र नाराबाजी समेत भइरहेको, उनको भनाई छ ।

महासंघले शनिबार बाहेक प्रत्येक दिन बिहान साढे १० बजे कारोबार मूल्य तोक्ने गरेकोमा निर्धारित समयमा मूल्य नै नतोकी आन्दोलनको कार्यक्रम सञ्चालन गरेको छ । सरकारको अर्थतन्त्रको क्षेत्र भएकाले दैनिक मूल्य निर्धारण त गरिन्छ तर बजार बन्द भएकाले मूल्यको आवश्यकता नपर्ने हुँदा कारोबार मूल्य नै समयमा नतोकेको उनी बताउँछन् ।

यता, अर्थमन्त्री भने नेपाललाई ग्रेलिष्टबाट बाहिर निकाल्नका लागि सुनमा विलासिता कर लगाएको दाबी गर्छन् । तर महासंघले त्यसमा आपत्ति जनाएको छ । ग्रेलिष्टबाट निकाल्नका लागि भ्रष्टाचार र सुनको अवैध तस्करी रोक्नुपर्ने महासंघको भनाई छ ।

प्रकाशित मिति: २० असार २०८२, शुक्रबार  १२ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।