काठमाडौँ । चालु आर्थिक वर्षको साउन महिनामा बीमा कम्पनीहरुले ३२ अर्ब रुपैयाँ बढीको व्यापार गरेका छन् ।
१४ वटा जीवन, १४ वटा निर्जीवन, ३ वटा लुघ जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरुले उक्त रकम भित्र्याएका हुन् ।
चालु आवमा गरेको व्यापार अघिल्लो वर्षको तुलनामा ३१.१५ प्रतिशतले बढी हो ।
अघिल्लो आर्थिक वर्ष २०८२/८३ को साउनमा कम्पनीहरुले २४ अर्ब ४१ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए ।
जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको साउनमा २६ अर्ब ६२ करोड २० रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा ३२.९७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष साउनमामा जीवन बीमा कम्पनीहरुले २० अर्ब २ करोड ३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।
चालु आर्थिक वर्षको साउनमा जीवन कम्पनीहरुले ४ अर्ब ८९ करोड ५२ लाख रुपैयाँ प्रथम जीवन बीमाशुल्क संकलन गरेका छन् भने नवीकरण जीवन बीमाशुल्कबाट २१ अर्ब ७२ करोड ६७ लाख रुपैयाँ संकलन गरेका छन् ।
अघिल्लो वर्ष साउनमा कम्पनीहरुले ३ अर्ब ६३ करोड २८ लाख रुपैयाँ प्रथम जीवन बीमाशुल्क र नवीकरण जीवन बीमाशुल्कबाट १६ अर्ब ३८ करोड ७५ लाख रुपैयाँ संकलन गरेका थिए ।
यसैगरी चालु आर्थिक वर्षको साउनमा निर्जीवन बीमा कम्पनीहरुले ५ अर्ब ४० करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्ष साउनमा कम्पनीहरुले ४ अर्ब ३९ करोड ६७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।
चालु आर्थिक वर्षको साउनमा जीवन बीमालेख संख्या (म्यादी, लघु म्यादी, वैदेशिक रोजगार जीवन बीमालेखबाहेक) ५९ लाख ९४ हजार ९५३ वटा रहेको छ । जुन अघिल्लो वर्ष यही अवधिको तुलनामा ४.३९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष साउनमा यो संख्या ५७ लाख ४२ हजार ७३५ वटा रहेको थियो।
समीक्षा अवधिमा म्यादी र लघु म्यादी जीवन बीमालेख संख्या ६३ लाख १ हजार ८७५ वटा र वैदेशिक रोजगार बीमालेख संख्या १९ लाख ४३ हजार ६९३ वटा रहेको छ। अघिल्लो वर्ष साउनमा म्यादी र लघु म्यादी जीवन बीमालेख संख्या ७५ लाख २४ हजार ३९४ वटा र वैदेशिक रोजगार बीमालेख संख्या २६ लाख १९ हजार २३६ वटा रहेको थियो।
चालु आर्थिक वर्षको साउनसम्म कुल जारी जीवन बीमालेख संख्या ७ लाख ४१ हजार ५२१ र कुल जारी निर्जीवन बीमालेख संख्या २ लाख ५४ हजार ६०७ रहेको छ।









