शेयर बजारमा आएको निरन्तरको सुधारसँगै नेप्से परिसूचक ऐतिहासिक उचाई नजिक पुगेको छ । बुधबार नेप्से करिब ६५ अंकले बढेर १८७५ अंक नजिक पुगेको छ । यो नेप्सेको एतेहासिक विन्दु भन्दा ६ अंक मात्र कम हो ।
बुधबार बजार खुलेदेखि नै निरन्तर बढेको नेप्से बीचमा करेक्सनतर्फ जान खोजेपनि पुन उकालो लागेर एतेहासिक विन्दु नजिक पुगेको हो। यसदिन नेप्से सूचक ६४.७० अंकले बढेर १८७४.८१ विन्दुमा पुगेको छ ।
यसदिन कारोबारमा आएका १९६ कम्पनीमध्ये १७० कम्पनीको शेयरमूल्य बढेको छ । यसदिन एनएमबि लघुवित्त र विशाल बजार कम्पनीको शेयरमूल्य दश प्रतिशतका दरले बढेको छ । नेपाल टेलिकम, नेपाल पुर्नरबीमा कम्पनी, अजोड इन्स्योरेन्स, शिवम सिमेन्ट, आँखुखोला जलविद्युत लगायतका झण्डै एक दर्जन कम्पनीको शेयरमूल्य ९ प्रतिशत बढीले उकालो लागेको छ ।
बुधबारको बजारमा होटल बाहेकका सबै समूह उकालो लागेका छन् । यसदिन १९६ कम्पनीको एक करोड ४७ लाख बढी कित्ता शेयर ५ अर्ब १३ करोड १८ लाख बढीमा किनबेच भएको छ ।
झण्डै ६५ अंकले बढेको बजारमा १७ कम्पनीको शेयरमूल्य भने घटेको छ । यसदिन सबैभन्दा धेरै नेको इन्स्योरेन्सको संस्थापक शेयरको कारोबार भयो । जसको ४२ करोड बढीको शेयर किनबेच भएको छ । त्यस्तै पुनर्रबीमा कम्पनीको २९ करोड बढीको शेयर किनबेच हुँदा नबिल बैंक र नेपाल टेलिकमको पनि क्रमश २२ करोड र १९ करोड बढीको कारोबार भएको छ ।
कोरोना भाइरसका कारण समग्र अर्थतन्त्र गतिशिल हुन नसकेको अवस्थामा शेयर बजारमा भने आकर्षक देखिन थालेको छ । पछिल्लो समयमा लगानीका अन्य क्षेत्र संकुचित भई बैंकहरु समेत शेयर बजारमा प्रवशे गरेर शेयर खरीद गर्न थाल्दा समेत नेप्से सूचकमा निरन्तर वृद्धि टिकेको छ ।
त्यतिमात्र नभई बैंक वित्तीय संस्थाको ब्याजदर घटेको हुनाले निक्षेप र बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको ऋण समेत शेयर बजार थपिएको अनुमान छ । त्यसले बजार बजार सुधारमा महत्वपुर्ण भुमिका खेलेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया