एक महिनामा शोधनान्तर बचत ३४ अर्बले बढ्यो, असोजसम्मको बचत १०१ अर्ब


चालु आर्थिक वर्षको असोज महिनामा मात्र देशको शोधनान्तर स्थिती ३४ अर्ब २७ करोड रुपैयाँले बचतमा रहेको छ । चालु आर्थिक वर्षको दोस्रो महिना भदौमा ६७ अर्ब ६३ करोड रुपैयाँले बचतमा रहेकोमा असोजमा बढेर १०१ अर्ब ९ करोड पुगेको हो ।

चालु आर्थिक वर्षको सो अवधिमा बैदेशिक ब्यापारमा कमी आएसंगै शोधनान्तर बचत उच्च दरमा बढेको छ ।

कोरोना भाइरसका कारण आर्थिक गतिविधिमा आएको सुस्ततासंगै आयातमा कमी आउनु र रेमिटेयान्स आप्रबाहमा उच्च सुधार आएपछि शोधनान्तर बचत बढेको हो ।

चालु आर्थिक वर्षको असोजमा रेमिट्यान्स आप्रवाहमा १२.६ प्रतिशतले बढेको छ भने निर्यात १४.३ प्रतिशतले बढेको छ । साथै आयात १२.७ प्रतिशतले घटेपछि शोधनान्तर अवस्थामा सुधार आएको हो ।

चालु आर्थिक वर्षको असोज महिनामा चालु खाता ३४ अर्ब ३६ करोडले बचतमा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा चालु खाता २२ अर्ब ४७ करोड रुपौयँले घाटामा रहेको थियो । अमेरिकी डलरमा गत आवको असोजमा १९ करोड ८४ लाखले घाटामा रहेको चालु खाता चालु आवको असोजमा २८ करोड ८२ लाखले बचतमा रहेको छ ।

चालु आर्थिक वर्षको असोजसम्ममा पुँजीगत ट्रान्सफर ३.३ प्रतिशतले कमी आई ३ अर्ब ५६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २६.८ प्रतिशतले कमी आई २ अर्ब ९२ करोड रुपौयँ कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ३ अर्ब ६८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी अर्ब ९९ करोड रुपैयाँ रहेको थियो ।

चालु आवको तेस्रो महिनामा शोधनान्तर स्थिति १०१ अर्ब ९ करोडले बचतमा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १४ अर्ब ४३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा गत आवको तेस्रो महिनासम्ममा १२ करोड ७८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ८५ करोड १० लाखले बचतमा रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।