सिटिजन्स बैंकको संचालक इला शर्माको निधन


काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सञ्चालक समितिकी सदस्य इला शर्माको करिब ६० वर्षको उमेरमा २०८२ साल असार २८ गतेका दिन हृदयघातका कारण असामयिक निधन भएको छ ।

शर्मालाई स्वास्थ्यमा असहज महसुस भएपछि नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी विगत १ वर्षदेखि सिटिजन्स बैंकको सञ्चालक समिति सदस्यका रूपमा कार्यरत थिइन् । कानुनमा विशेष अनुभव सँगालेकी शर्मा पूर्व–निर्वाचन आयुक्त समेत थिइन् ।

उनले त्रिभुवन विश्वविद्यालयबाट पब्लिक इन्टरनेसनल ल एन्ड ह्युमन राइट्समा एलएलएम गरेकी थिइन् । साथै, युनिभर्सिटी अफ हल, यूकेबाट पनि इन्टरनेसनल बिजनेस ल, इन्टरनेसनल ट्रेड एन्ड डेभलपमेन्टमा एलएलएम गरेकी थिइन् ।

शर्मासँग अन्तर्राष्ट्रिय व्यापार, कानुन, जनसम्पर्क, शिक्षा र विकासलगायतका क्षेत्रमा साढे तीन दशक काम गरेको अनुभव थियो । निर्वाचनसम्बन्धी कानुन, नियमावली र निर्देशन निर्माणमा संलग्न उनी उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको अध्यक्ष समेत थिइन् ।

उनको पार्थिव शरीरमा आज पशुपतिको आर्यघाटमा बैंकका अध्यक्ष प्रबल जंग पाण्डे, सञ्चालक दिग्विजय विष्ट, बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेललगायत बैंकका व्यवस्थापन समूहहरू, बैंकका शेयरधनी र कर्मचारीहरूले पुष्पमाला अर्पण गरी अन्तिम बिदाई गरे ।

शर्माको असामयिक निधनले सिटिजन्स बैंक परिवार स्तब्ध भएको छ र बैंकलाई अपूरणीय क्षति पुर्याएको छ । सिटिजन्स बैंक परिवार उनको आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।

प्रकाशित मिति: २९ असार २०८२, आइतबार  १७ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।