स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा


स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा पालिकाभित्र रहेका ४ हजार ५ सय ४३ घरधुरीका नागरिकको निःशुल्क बिमावापतको रकम १ करोड ७२ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

गाउँपालिकाभित्र बसोबास गर्ने पालिकाबासीको स्वास्थ्य सेवामा पहुँच पु¥याउने उद्देश्य राख्दै कालीगण्डकी गाउँपालिकाले पालिकाका सबै नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको हो । निःशुल्क स्वास्थ्य बिमा गरेसँगै पालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा १ करोड ७२ लाख ७२ हजार एक सय ५० रुपैयाँ स्याङ्जास्थित स्वास्थ्य बिमा कार्यालयमा भुक्तानी गरेको गाउँपालिकाका निःशुल्क बिमा कार्यक्रममा कार्यरत दुर्गा पाण्डेले जानकारी दिए ।

७ वटावडा रहेको कालीगण्डकी –१ मा ७ सय ७२ घरधुरी, वडा नं २ मा ७ सय २६ घरधुरी, वडा नं ३ मा ५ सय ८३, वडा नं ४ मा ६ सय ६८, वडा नं ५ मा ६ सय ८०, वडा नं ६ मा ५ सय ८८ र वडा नं ७ मा ५ सय २६ गरी कूल ४ हजार ५सय ४३ घरधुरीको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको हो ।

गाउँपालिकाले पहिलो चरणमा १ हजार ६१७ घरधुरीको बिमावापत ६१ लाख ७७ हजार १५० रुपैयाँ भुक्तानी गरेको थियो । दोस्रो चरणमा २ हजार १ सय ८३ घरधुरीका लागि ८२ लाख ७० हजार ५०० रुपैयाँ, तेस्रो चरणमा ३ सय ९९ घरधुरीका लागि १४ लाख ९२ हजार ५० रुपैयाँ र चौँथो तथा अन्तिम चरणमा ३ सय ४४ घरधुरीको बीमावापत १३ लाख ३२ हजार ४ सय ५० रुपैयाँ भुक्तानी गरेको उनले जानकारी दिए ।

गाउँपालिकाका ७ वटै वडाका ४ हजार ५ सय ४३ कूल घरधुरीलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रममार्फत समेटिएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए। गाउँपालिकाले नागरिकको स्वास्थ्य बिमा नवीकरणवापत प्रत्येक ३/३महिना गरी ४ चरणमा रकम भुक्तानी गरेको हो ।“गाउँपालिकाका प्रत्येक ७ वटै वडामा बिमा अभिकर्ताहरु हुन्छन्” अध्यक्ष थापाले भने, “अभिकर्ताहरुले घर घरमा पुगेर फोटो खिच्ने तथा रसिद काटेर ल्याउनुहुन्छ, तीनै रसिदहरुका आधारमा तथ्याङ्क यकिन गरी स्वास्थ्य बिमा कार्यालय स्याङ्जामा पालिकाबाट सिधँै भुक्तानी गर्छौँं ।”

एक जनादेखि पाँच जनासम्मको परिवारलाई ३ हजार ५०० रुपैयाँ भुक्तानी गर्ने उनले बताए । ५ देखिमाथि परिवार सङ्ख्या भएको घरधुरीलाईप्रति सङ्ख्याका आधारमा ७ सय थप गरिएको हो । गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ देखि निःशुल्क स्वास्थ्य बिमा कार्याक्रम कार्यान्वयनमा ल्याएको अध्यक्ष थापाले बताए । “स्वास्थ्यको पहुँच नभएर गाउँपालिकाभित्रका नागरिक उपचारका लागि अस्पताल जान नसक्ने अवस्था नहोस्, सबैलाई स्वास्थ्यको समान पहुँच पुगोस् भन्ने उद्देश्यले निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम अगाडि सारेका हौँ” अध्यक्ष थापाले भने, “आव २०७८/७९ बाट सुरु भएको कार्यक्रमले निरन्तरता पाइराख्ने छ ।”

गाउँपालिकाभित्रका नागरिकले स्वास्थ्य बिमाका अलावा गाउँपालिका मातहतमा मिर्मिमा सञ्चालनमा रहेको कालीगण्डकी अस्पतालबाट दिइने स्वास्थ्यसम्बन्धी उपचार तथा औषधि निःशुल्क प्राप्त गर्दै आइरहेका छन् । रासस

प्रकाशित मिति: ३० असार २०८२, सोमबार  १० : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।