पूर्वगृह मन्त्रीलाई मोरङ उद्योग व्यापार संघको ज्ञापन पत्र


काठमाडौँ । बुधबार मोरङ उद्योग व्यापार संघको टोलीले विराटनगर आएका पूर्व गृह मन्त्री एवं नेपाली कांगे्रसका प्रभावशाली नेता बालकृष्ण खाँणलाई भेटघाट गरेका छन् । उनीहरुले उद्योगी/व्यवसायीहरुका विद्यमान समस्याहरु बारे अवगत गराउँदै तीनको समाधानार्थ सरकार समक्ष पहल गरिदिन ज्ञापन पत्र बुझाएका हुन् ।

संघका निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजाल, पूर्व अध्यक्ष पवन कुमार सारडा, वरिष्ठ उपाध्यक्ष अनिल कुमार साह लगायतको नेतृत्वमा पूर्व गृह मन्त्री खाँणलाई आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको आर्थिक नीति र मौद्रिक नीति विगतका भन्दा अझै उद्योग/व्यवसायमैत्री रहेको बताएका थिए ।

साथै, केही वस्तुका करका दरहरुमा गरिएका हेरफेरबाट नकारात्मक प्रभाव पर्न गएका उद्योग/व्यवसायहरु सहित उद्योग÷व्यवसाय क्षेत्रका केहि विद्यमान आवश्यकताहरु समेटी संघद्वारा तयार पारिएको ज्ञापन पत्र बुझाइएको थियो ।

ज्ञापन पत्र बुझाउने क्रममा संघका निवर्तमान अध्यक्ष रिजालले नेपालको अत्याधिक बीमा प्रिमियम दर न्यूनिकरण गर्नु पर्ने तथा बीमाका अन्यायिक नीतिहरु खारेज गर्नु पर्ने, कवाडीजन्य फलामको धुलो र टुक्रा सिसाको निकासीमा लगाइएको भन्सार महसुल खारेज गर्नु पर्ने लगायतका विषयहरु जानकारी गराएका थिए ।

प्रकाशित मिति: ३२ असार २०८२, बुधबार  १७ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।