बजेट तथा मौद्रिक नीतिका व्यवस्था बैंकहरूले कार्यान्वयन नगरेको व्यवसायीको गुनासो

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले मौद्रिक नीति मार्फत दिइएका सुविधाहरू बैंकहरूले कार्यान्वयन गर्न आनाकानी गरिरहेको गुनासो गरेका छन् । बुधबार महासंघका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा अर्थ मन्त्रालयद्वारा आयोजित कार्यक्रममा व्यवसायीले अर्थमन्त्री समक्ष सो गुनासो गरेका हुन ।

सो भेटमा महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिड संकटमा महासंघले दिएका कतिपय सुझावहरू बजेट तथा मौद्रिक नीति मार्फत संवोधन भएको तर स्थानीय तहमा साना उद्यमी व्यवसायीहरूले मौद्रिक नीति मार्फत दिइएका सुविधाहरू कार्यान्वयन गर्न वाणिज्य बैंकहरूले आनाकानी गरीरहेको जानकारी दिए ।

उनले समग्रमा साना उद्यमी व्यवसायी लक्षित विशेष स्टिमुलस प्याकेजकै खांचो औल्याए । उनले भने– त्यस्ता स्टिमुलस प्याकेजले विशेष गरी साना र कमजोर उद्यमी व्यवसायीलाई पुनरूत्थान गर्न सहयोग गरोस् । अर्थतन्त्रको पुनरूत्थानका लागि महासंघले विज्ञ समेतको सहयोगमा अनुसन्धानमा आधारित रहेर सुझावहरू तयार गरी सरकारमा पेश गर्ने तयारी गरेको पनि महासंघका अध्यक्ष शेखर गोल्छाले जानकारी दिए ।

महासंघले अन्तराष्ट्रिय संस्थाको समेत सहयोगमा मुलुकको “भिजन डकुमेन्ट” तयार गर्ने कार्यलाई अगाडी बढाएको पनि उनले जानकारी गराए । महासंघले तयार गर्ने उक्त डकुमेन्ट विभिन्न देशहरूका सफल अनुभव र मोडलहरूका आधारमा तयार गरिने स्पष्ट पारे । डकुमेन्ट तयारी पछि सरकारबाट स्वीकृत गराई सहकार्यमा लगिने बताए ।

साथै उक्त डकुमेन्टमा मुलुकले हासिल गर्ने तत्तकालिन, मध्यकालिन र दीर्घकालिन लक्ष्यहरू किटान गरीने बताए । अध्यक्ष गोल्छाले राजस्व वोर्डलाई निजी क्षेत्रको समेत सल्लाह सुझावमा पूर्णता दिन आग्रह गर्दै यसले निजी क्षेत्रमा समेत थप जिम्मेवारीको बोध भई सहकार्य गर्न सहयोग पुग्ने सुझाव दिए ।

सो अवसरमा महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत गर्नुहुंदै अर्थमन्त्री पौडेलले अर्थ मन्त्रालयले निजी क्षेत्रसंगको सहकार्यलाई विशेष जोड दिई आएको र आगामी दिनमा पनि यस कार्यलाई थप मजवुत बनाउंदै जाने विश्वास दिलाए ।

महासंघका तर्फबाट अनुसन्धानमा आधारित रहेर सुझाव तयार गरी सरकारलाई पेश गर्ने कुरालाई आफूले अत्यन्त सकारात्मक रूपमा लिएको पनि बताए । अर्थमन्त्रीले महासंघसंग नियमित र संस्थागत संवादका माध्यमबाट अगाडी बढ्ने स्पष्ट पार्दै बजेट र मौद्रिक नीति मार्फत संवोधन गरिएका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सरकारको समेत जोड रहेको स्पष्ट पारे । अर्थमन्त्रीले महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई एवं शुभकामना समेत दिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।