काठमाडौँ । भोटेकोसी बाढीबारे संसद्ले विशेष समिति बनाएको छ । सभामुख डोलप्रसाद अर्यालले सोमबारको प्रतिनिधिसभा बैठकमा ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोसी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति’ गठन भएको घोषणा गरेका हुन् ।
१५ सदस्यीय समिति बनाएको छ । जसमा रास्वपाबाट गणेश पराजुली, निशा डाँगी, अनुष्का श्रेष्ठ, सुजाता तामाङ, धनञ्जय रेग्मी, अचुतम लामिछाने, रविन्द्र पटेल, मिङमा ग्याबु शेर्पा सदस्य रहेका छन् ।
प्रतिपक्षी नेपाली कांग्रेसबाट मोहन आचार्य, उर्मिला थपलिया सदस्य छन् । नेकपा (एमाले)बाट पुष्पराज कँडेल र गंगा श्रेष्ठ सदस्य रहेका छन् भने नेकपाका सांसद रमेशकुमार मल्ल, श्रम संस्कृति पार्टीका ध्रुवराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामा सदस्य छन् ।
समितिको सभापति भने समितिको बैठकबाटै तोकिने सभामुखले जानकारी गराए । तर, दलहरुबीच रास्वपा संसदीय दलका उपनेता पराजुलीलाई सभापति बनाउने सहमति भएको छ । समितिको कार्यअवधि पहिलो बैठक बसेको मितिले तीन महिना तोकिएको छ । समितिले नौबुँदे कार्यादेश पाएको छ ।
यस्तो छ कार्यादेश :
१. हिमालमा जलवायु परिवर्तनको प्रभावको अध्ययन
२. भोटेकोसी–त्रिशूली विपद्को कारण तथा प्रभावको अध्ययन
३. खोज, उद्धार, राहत तथा पुनर्सथापनाको समीक्षा
४. दिगो तथा सुरक्षित पुनर्निर्माणको मार्गचित्र
५. विपद् जोखिम न्यूनीकरण तथा पूर्वचेतावनी प्रणाली
६. कार्बन उत्सर्जन, जलवायु न्याय तथा हानि–नोक्सानी
७. जलवायु कूटनीति तथा सीमापार सहकार्य
८. कानुनी तथा संस्थागत सुधार
९ समन्वय तथा संसदीय अनुगमन







