सिरहा । सशस्त्र प्रहरी बल, नेपाल नं ७ गण, सिरहाले आर्थिक वर्ष २०८१/८२ मा ९ करोड ६० लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । यस अवधिमा लत्ताकपडा, किराना, हार्डवेयर, इलेक्ट्रोनिक्स, औषधि, मदिरा, पशुचौपायालगायतका विभिन्न सामग्री र गैरकानुनी रूपमा प्रयोगमा आएका सवारीसाधन नियन्त्रणमा लिइएका हुन् ।
सशस्त्र प्रहरी गण सिरहाका गणपति, सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीका अनुसार बरामद गरिएका अवैध सामग्रीमध्ये लताकपडा मात्रै २ करोड ६६ लाख ८ हजार रुपैयाँ बराबरको रहेको छ भने किराना सामान २ करोड २० लाख रुपैयाँ, हार्डवेयर ४३ लाख ५८ हजार रुपैयाँ, इलेक्ट्रोनिक्स ४० लाख ७१ हजार रुपैयाँ, मदिरा २३ लाख ५१ हजार रुपैयाँ, नगद ४ लाख, काठ ९३ हजार रुपैयाँ र पशुचौपाया १३ लाख ५६ हजार रुपैयाँ मूल्य बराबरका रहेका छन् ।
त्यस्तैगरी अवैधकार्यमा प्रयोग गरिएका सवारीसाधनमध्ये २२२ वटा मोटरसाइकल, ६ वटा पिकअप÷स्कारपियो, २१ वटा ट्रयाक्टर, १ म्याजिक र ४ वटा सिटी सफारी/अटो/रिक्सा समेटिँदा ३ करोड ३७ लाख ८ हजार रुपैयाँ बराबरको मूल्य रहेको छ ।
यस क्रममा १५ व्यक्तिलाई नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाइएको पनि सशस्त्र प्रहरीले जनाएको छ । गणपति भण्डारीले भने,“सीमा सुरक्षा, चोरी तस्करी नियन्त्रण र विपद् व्यवस्थापनमा सक्रिय भएर सशस्त्र प्रहरी काम गरिरहेको छ । हामी आगामी दिनमा यस्ता गैरकानुनी कार्य विरुद्ध अझै कडा रूपमा प्रस्तुत हुने छौँ ।”
उनका अनुसार अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा सशस्त्र प्रहरीले ८ करोड ४१ लाख रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको थियो । यस वर्षको बरामद सङ्ख्याले यसपटकको नियन्त्रण अझ कडारूपमा अघि बढेको देखाउँछ ।










प्रतिक्रिया