आर्थिक पुनरुत्थानका कार्यक्रमहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

0
Shares

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक पुनरुत्थान गर्न ल्याइएका कार्यक्रमहरु प्रभावकारीरुपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

आर्थिक वर्ष २०७७/७८ को चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री पौडेलले सहुलियतपूर्ण कर्जा लगायतका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिए।

कोभिड -१९ का कारण उत्पन्न प्रतिकूलताबीच पनि कुशलतापूर्वक कार्य सम्पादन गरी क्षमता प्रदर्शन गर्न आग्रह गर्दै उनले आयोजना तथा कार्यक्रमहरु कार्यान्वयन गर्दा समयसीमा निर्धारण गरी गर्न निर्देशन दिए ।

अर्थमन्त्रालय लगायत विभिन्न मन्त्रालयहरुको पूँजीगत गर्न बढाउनका लागि थप पहल गर्न निर्देशन दिँदै अर्थमन्त्री पौडेलले अन्तरमन्त्रालय समन्वयमा पनि जोड दिए ।  उनले पुराना आयोजना अलपत्र भएको अवस्थामा पनि नयाँ कार्यक्रम तथा आयोजना छनौट गर्ने प्रवृत्तिमा क्रमशः सुधार गर्दै पुराना आयोजना तोकिएको समयमा सम्पन्न गर्नका लागि सहजीकरण गर्न पनि निर्देशन दिए ।

अर्थमन्त्री पौडेलले आन्तरिक नियन्त्रण प्रणालीलाई व्यवस्थित तुल्याउने, समयमै बेरुजु फर्छ्यौट गर्ने, लक्ष्य अनुरुप बजेट कार्यान्वयन गर्ने र कार्य सम्पादनका लागि तोकिएका सूचकहरुको लक्ष्य समयमै हासिल गर्ने गरी चालु आर्थिक वर्षको बाँकी अवधिको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न निर्देशन दिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ मंसिर २०७७, शुक्रबार  १७ : ०४ बजे