साताको अन्तिम कारोबार दिनमा पनि सेयर बजारमा पहिरो, लगानीकर्ताले दुई दिनमा गुमाए सावा खर्ब बढी


काठमाडौँ । निरन्तरको वृद्धि पछि घट्न थालेको सेयर बजारमा साताको अन्तिम कारोबार दिन बिहीबार पनि गिरावट देखिएको छ । बिहिबार सेयर बजार परिसुचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ ।

दिनभरि उतारचढावमा रहेको नेप्से बजार बन्द हुने बेलामा ३१.५ अंकले घटेर २९२२.६३ अंकमा झरेको छ । बिहिबार १ लाख ६८ हजार ५९४ पटकको कारोबारबाट ३ करोड ६८ लाख ७१ हजार २४४ कित्ता सेयरहरु १५ अर्ब ९८ करोड ८९ लाख ११ हजार रुपैयाँमा किनबेच भएका छन् । बजारमा ५२ कम्पनीको सेयर मूल्य उकालो लाग्दा १९८ कम्पनीको सेयर मूल्य घटेको नेप्सेले जनाएको छ ।

बुधबार नप्से परिसुचकमा ४७.९३ अंकको गिरावट आउँदा १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । बजार ओरालो लाग्दै गर्दा कारोबार रकम पनि बुधबारको तुलनामा झण्डै ४६ करोड रुपैयाँले घटेको हो ।

बुधबार र बिहीबार बजार भारी अंकले घटेसँगै लगानीकर्ताले १ खर्ब ३२ अर्ब ५६ करोड रुपैयाँ सम्पत्ती गुमाएको छन् । बिहिबारको कुल बजार पूँजीकरण ४८ खर्ब ७६ अर्ब ९० करोड ८९ लाख रुपैयाँ छ । बुधबार कुल बजार पूँजीकरण ४९ खर्ब २९ अर्ब ४७ करोड ६७ लाख रुपैयाँ कायम भएको थियो । मंगलबार कूल बजार पूँजीकरण ५० खर्ब ९ अर्ब ४६ करोड रुपैयाँ कायम भएको थियो ।

बिहिबार वित्त समूह बाहेक सबै उपसुचक राताम्मे भएका छन् । वित्त समूह ३१.२४ अंकले बढेको बजारमा जीवन बीमा समूह १८१.०३ अंकले घटेको छ । व्यापार समूह १०७.३७ अंकले घटेको छ । निर्जीवन बीमा समूह ९४.२४, उत्पादन तथा प्रशोधन समूह ९२.३५, होटल तथा पर्यटन समूह ७१.५५, जलविद्युत समूह ४४.५५ अंकले घटेको छ । लघुवित्त समूह २७.८४, विकास बैंक समूह २९.७७ अंकले घट्दा वाणिज्य बैंक समूह पनि २२.१९ अंकले घटेको छ ।

बिहिबार ट्रेड टावर, नेपाल फाइनान्स, कर्पाेरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

कारोबार रकमको आधारमा हिमालयन रिइन्स्योरेन्स १ अर्ब ३३ करोड ८८ लाख १६ हजार रुपैयाँको कारोबार सहित शीर्षस्थानमा छ । कारोबारमा आएका इकाईको संख्याका आधारमा प्रभु सेलेक्ट फण्ड अग्र स्थानमा रहदाँ कारोबार संख्याको आधारमा सान्भी इनर्जी २७ हजार ४८७ पटकको कारोबार सहित शीर्षस्थानमा छ ।

प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार  १६ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।