९ खानेपानी योजना सञ्चालनमा


नवलपरासी । बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ८ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेका नौ  खानेपानी योजना सञ्चालनमा आएका छन् ।
सङ्घीय सरकारको चार आयोजना तथा प्रदेश सरकारको ५ आयोजना आर्थिक वर्ष २०८१/८२ देखि सञ्चालनमा ल्याइएको नवलपरासी खानेपानी तथा सरसफाइ कार्यालयका प्रमुख प्रकाश न्यौपानेले बताए। उनका अनुसार मुढाहा खानेपानी आयोजना, भगवती मन्दिर खानेपानी आयोजना, बन्देवी खानेपानी आयोजना, कुनुवार खानेपानी योजना र कञ्चनपुर खानेपानी आयोजना लुम्बिनी प्रदेश सरकारले निर्माण गरेको हो ।
यस्तै बर्दघाट–१ पञ्चनगर खानेपानी आयोजना, दाउन्ने देवी खानेपानी आयोजना, सुक्रौली खानेपानी आयोजना तथा छिबनी खानेपानी आयोजना सङ्घीय सरकारको लगानीमा बनेको हो । प्रत्येक नागरिकले स्वच्छ खानेपानी पिउन पाउनुपर्ने उद्देश्यका साथ सङ्घीय सरकार र प्रदेश सरकारले खानेपानी सञ्चालन गर्न ११ करोड २४ लाख ७७ हजार रुपैयाँ  विनियोजन गरेकामा १० करोड ३७ लाख ९५ हजार रुपैयाँको लागतमा निर्माण गरिएका हुन् । ती योजनाबाट १ हजार ५७ घरधुरी लाभान्वित भएका प्रमुख न्यौपानेले बताए।
छिबनी खानेपानी सञ्चालनमा आएपछि २ सय ३५ धारा जडान गरिएका  छिबनी खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद न्यौपानेले बताए। यस्तै कुनुवार खानेपानी सञ्चालनमा आएपछि ७० धारा जडान गरिएका छन् । धारा जोड्ने काम भइरहेको कुनुवार खानेपानी उपभोक्ता समितिका अध्यक्ष वीरेन्द्र यादवले बताए।

प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार  १४ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।