गत आर्थिक वर्षमा आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा लक्ष्यको ९४ प्रतिशत राजस्व संकलन


काठमाडौँ । आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्ष २०८१/८२ मा २५ अर्ब ९ करोड ७ लाख ३२ हजार रूपैयाँ राजस्व संकलन गरेको छ । सो रकम लक्ष्यको ९४.२९ प्रतिशत मात्र हो ।

गत आर्थिक वर्ष भरतपुर कार्यालयले २७ अर्ब ९२ करोड ८७ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । गत आवको लक्ष्यबराबरको राजस्व संकलन नभए पनि अघिल्लो आवको तुलनामा बढी राजस्व संकलन भएको हो ।

कार्यालयले गत आवमा आयकर तर्फ लक्ष्यको ८०.९६ प्रतिशत मात्र राजस्व संकलन भएको जनाएको छ । कार्यालयले ३ अर्ब ५८ करोड ४६ लाख ६१ हजार रुपैयाँ आयकर संकलन गर्ने लक्ष्य राखेकोमा २ अर्ब ९० करोड २० लाख ३५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

यस्तै मूल्य अभिवृद्धि कर तर्फ लक्ष्यको ९८.१४ प्रतिशत राजस्व संकलन भएको छ । कार्यालयले २ अर्ब ३७ करोड ६४ लाख २३ हजार रुपैयाँ मूल्य अभिवृद्धि कर उठाउने लक्ष्य राखेकोमा २ अर्ब ३३ करोड २१ लाख ४२ हजार रुपैयाँ संकलन भएको छ ।

कार्यालयका अनुसार अन्तः शुल्कमा लक्ष्यको ९६.१७ प्रतिशत राजस्व संकलन भएको छ । कार्यालयले २० अर्ब ३८ करोड ९६ लाख २० हजार रुपैयाँ बराबरको अन्त शुल्क संकलन हुने लक्ष्य राखेकामा १९ अर्ब ६७ करोड ८ लाख २७ हजार रुपैयाँ संकलन गरेको हो । बहाल कर तर्फ ६४.८५ प्रतिशत प्रगति भएको छ । ६ करोड ५० लाख १८ हजार रुपैयाँ लक्ष्य लिएकोमा ४ करोड २१ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कार्यालयले २७ अर्ब ९२ करोड ८७ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा २० अर्ब ५६ करोड ७८ लाख ५७ हजार रुपैयाँ मात्र राजस्व संकलन भएको थियो । जुन कुल लक्ष्यको ७३.६४ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

सो आर्थिक वर्षमा आय कर राजस्व तर्फ लक्ष्यको ८८.८१ प्रतिशत संकलन भएको थियो । २ अर्ब ९६ करोड ३८ लाख ३६ हजार रुपैयाँ आयकर उठ्ने लक्ष्य राखेकोमा २ अर्ब ६३ करोड २२ लाख ५० हजार रुपैयाँ मात्र संकलन भएको थियो । उक्त आवमा मूल्य अभिवृद्धि कर २ अर्ब ३३ करोड ७२ लाख ४० हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकोमा १ अर्ब ९५ करोड २८ लाख ४७ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । जुन लक्ष्यको ८३.५५ प्रतिशत मात्र हुन आउँछ । अन्तःशुल्क कर लक्ष्यको ७०.७० प्रतिशत संकलन भएको थियो । २२ अर्ब ३४ करोड ४१ लाख ५६ हजार रुपैयाँ अन्तःशुल्क संकलन गर्ने लक्ष्य राखेकोमा १५ अर्ब ७९ करोड ८२ लाख ६३ हजार रुपैयाँ मात्र संकलन भएको थियो ।

प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार  ११ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।