पूर्वाधार विकास कार्यालय झापाको पुँजीगत खर्च ८८ प्रतिशत


भद्रपुर । पूर्वाधार विकास कार्यालय झापाको गत आर्थिक वर्ष २०८१/८२ मा पुँजीगततर्फ १ अर्ब १५ करोड ९१ लाख ३ हजार रुपयाँ खर्च भएको छ । उक्त खर्च पुँजीगततर्फ विनियोजित रकमको ८८ प्रतिशत हो ।

पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी उत्तम नारायण खरेलका अनुुसार प्रदेश स्रोत, सङ्घ सशर्त र समपुरक गरी जम्मा १ अर्ब ३१ करोड ६४ लाख रुपयाँ पुँजीगततर्फ विनियोजन भएको थियो । “चालुतर्फ विनियोजित २ करोड ६८ लाख ८० हजार रुपयाँ मध्ये २ करोड २३ लाख २६ हजार रुपयाँ अर्थात ८३ प्रतिशत रकम खर्च हुँदा समग्रमा जम्मा खर्च ८७ दशमलव ९५ प्रतिशत भएको छ” उनले भने ।

झापा र इलाम दुई जिल्ला कार्यक्षेत्र रहेको पूर्वाधार विकास कार्यालयले गत आवमा झापामा २ र इलाममा २ गरी ४ वटा मोटरेवल पुल निर्माण सम्पन्न गरेको सूचना अधिकारी इञ्जीनीयर खरेलले जानकारी दिए ।

यसैगरी गत आवमा १० दशकलव २१ किलोमिटर सडक कालोपत्र, ३५ दशमलव ६६ किमि सडक ग्रावेल, ३ किमि सडक मर्मत, २७ दशमलव ७६ किमि कच्ची सडक, ५ दशमलव ७५ किमि सडक सोलिङ्ग, १ दशमलव ८५ किमि सडक ढलान गर्ने काम सम्पन्न भएको उनले बताए।

झापा जिल्लामा २ बहुवर्षीय सडकको २७ दशमलव ८५ किमी निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार  ०७ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।