फिक्कल । यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । १ वर्षको अवधिमा १३ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको सो कार्यालयले १३ करोड ८२ लाख ३ हजार ५ सय १७ रुपैयाँ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख खगेन्द्रप्रसाद मैनालीले जानकारी दिए। कार्यालयले अघिल्लो आर्थिक वर्षभन्दा २ करोड ४९ लाख ४१ हजार ८ सय ३९ रुपैयाँ बढी राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा २२.०२ प्रतिशतले वृद्धि हो । कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ११ करोड ३२ लाख ६१ हजार ६ सय ७८ रुपैयाँ मात्र राजस्व सङ्कलन गरेको थियो ।
कार्यालयले सवारी साधन वार्षिक करबाट ९ करोड ९६ लाख ३ हजार ४ सय ४२ सङ्कलन गरेको छ । सवारी दर्ता÷नामसारी÷नवीकरणबाट ७२ लाख ३ हजार ५ सय ५५ सङ्कलन गरेको छ । त्यस्तै, व्यवसाय रजिस्ट्रेशन दर्ता दस्तुरबाट १ लाख २८ हजार २ सय रुपैयाँ सङ्कलन भएको कार्यालय प्रमुख मैनालीले जानकारी दिए।
त्यस्तै आयकरबाट ३७ लाख ८५ हजार ५ सय ९० सङ्कलन गरेको छ । कार्यालयले चालक अनुमतिपत्रबाट १ करोड ४३ लाख १७ हजार ३० सङ्कलन गरेको छ । त्यसैगरी नेपाल भारत सीमाक्षेत्र पशुपतिनगरमा स्थापना गरिएको सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्रबाट १ करोड ६ लाख १७ हजार ३० राजस्व सङ्कलन भएको छ । इलाम सदरमुकामस्थित कार्यालय र पशुपतिनगरबाट रुट पर्मिट र पटकेबाट १ करोड ३० लाख ७२ हजार २ सय ३० रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले भारतीय ४ चक्के सवारी नेपाल प्रवेश गर्दा ५ सय १० रुपैयाँ र मोटरसाइकलको २ सय १० रुपैयाँ राजस्व लिने व्यवस्था गरेको थियो । यातायात व्यवस्था सेवा कार्यालयकै मातहतमा रहने गरी अघिल्लो वर्ष पशुपतिनगरमा राजस्व असुली केन्द्र स्थापना भएको थियो ।
यहाँको यातायात व्यवस्था सेवा कार्यालयको कार्यक्षेत्र इलामसँगै पूर्वी पहाडी जिल्ला पाँचथर र ताप्लेजुङ भए पनि झापासहितका सेवाग्राहीसमेत सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा लिन आउने गरेको कार्यालय प्रमुख मैनालीले बताए ।










प्रतिक्रिया