बैंक अफ काठमाण्डूले आजदेखि १ अर्ब ६० करोड रूपैयाँ बराबरको ऋणपत्रको बिक्री खुला गरेको छ । बैंकले बार्षिक ८.५० प्रतिशत ब्याजदर प्रदान गर्नेगरी ऋणपत्र बिक्रीमा ल्याएको हो ।
बैंकले एक हजार रुपैयाँ अंकित दरका १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता ऋणपत्रको निष्काशन गरेकोे हो। निष्काशन गरिने कुल ऋणपत्रमध्ये ९६ करोड रुपैयाँ बराबरको ९ लाख ६० हजार कित्ता व्यक्तिगत तवरबाट तथा ६४ करोड रुपैयाँ बराबरको ६ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि निष्काशन गरेको हो ।
सर्वसाधारणका लागि निष्काशन गरिने कुल ६ लाख ४० हजार कित्ता ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ३२ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ६ लाख ८ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि दरखास्त दिन सक्नेछन् भने अधिकतममा ३ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।
१० वर्ष अवधि रहेको सो ऋणपत्रमा बैंकले वार्षिक ८.५ प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको प्रथम र द्वितिय अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गर्नेछ।
ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। सो ऋणपत्रमा छिटोमा मंसिर २८ गते र ढिलोमा पुस ८ गतेसम्म आवेदन दिन सकिनेछ।
बैंकको ऋणपत्रलाई इक्रा नेपालले इक्राएनपी आईआर त्रिपल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यो रेटिङ्ग प्राप्त गर्ने संस्थाले समयमा नै वित्तीय दायित्व पूरा गर्ने तथा मध्यम कर्जा जोखिम रहने संस्थाको रुपमा लिइन्छ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया