कोइलाबास भन्सारद्वारा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन


घोराही । दाङको एक मात्र कोइलाबास भन्सारले लक्ष्यभन्दा झण्डै १० लाख रुपैयाँ बढी राजस्व सङ्कलन गरेको छ ।

गत आर्थिक वर्ष २०८१/८२ का लागि १ करोड ६३ लाख ६ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य पाएको कोइलाबास भन्सारले १ करोड ७२ लाख रुपैयाँ  राजस्व सङ्कलन गरेको भन्सार प्रमुख लोकबहादुर विष्टले जानकारी दिए। सङ्कलित राजस्वमध्ये मुद्दाबाट १५ लाख १ हजार रुपैयाँ  असुल भएको र बाँकी अस्थायी पैठारीबाट सङ्कलन भएको उनले बताए।

भारतबाट कोइलाबास क्षेत्रसँगै रामजानकी मन्दिर, प्युठानको स्वर्गद्वारी मन्दिर, दाङको चौघेरा मन्दिरलगायतका ठाउँमा पूजापाठ तथा घुमफिरका लागि आउने नागरिकले प्रयोग गर्ने सवारीसाधनबाट बढी मात्रामा राजस्व सङ्कलन हुने गरेको प्रमुख विष्टले बताए।

व्यावसायिक रूपमा यो नाका धेरै चलनचल्तीमा छैन । यहाँ सवारीसाधनबाट नै बढी कर उठ्ने गर्छ । कुनै समय व्यापार व्यवसाय धेरै हुने नाकाको पहिचान बनाएको कोइलाबास पछिल्लो समय भारतीय पर्यटक नेपाल भित्रिने नाकाको रूपमा चिनिएको छ ।

कार्यालयले गत वर्ष साउनमा १२ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकामा ९ लाख २३ हजार रुपैयाँ  मात्र उठेको थियो । भदौमा १३ लाख रुपैयाँ  राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा ६ लाख १९ रुपैयाँ, असोजमा १३ लाख २६ हजार रुपैयाँ  मध्ये ७ लाख ८ हजार रुपैयाँ, कात्तिकमा १२ लाख ८९ हजार लक्ष्य लिएकाका ९ लाख १३ हजार रुपैयाँ तथा मङ्सिरमा १३ लाख ६८ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा ८ लाख ९१ हजार रुपैयाँ सङ्कलन भएको प्रमुख विष्टले जानकारी दिए।

यसैगरी पुसमा १३ लाख २५ हजार रुपैयाँ  राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा ३० लाख ४६ हजार रुपैयाँ, माघमा १२ लाख ५४ हजार रुपैयाँ  लक्ष्य लिएकामा १२ लाख ४९ हजार रुपैयाँ फागुनमा १४ लाख ४४ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा ११ लाख रुपैयाँ, चैतमा १४ लाख ४३ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा १० लाख ३२ हजार रुपैयाँ, यसै वर्ष वैशाखमा १३ लाख ८८ हजार रुपैयाँमध्ये ९ लाख ८७ हजार रुपैयाँ, जेठमा १५ लाख ३३ हजार रुपैयाँ मा २३ लाख ४३ हजार रुपैयाँ तथा असारमा १४ लाख १७ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा १९ लाख ६४ हजार रुपैयाँ सङ्कलन भएको थियो ।

प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार  १४ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।