साहस उर्जाले १.५ अर्बको आईपीओ जारी गर्ने, धितोपत्र बोर्डसँग अनुमति माग

0
Shares

निजी क्षेत्रबाट स्वदेशी लगानीमा निर्माणाधिन नेपालकै हालसम्मको ठूलो परियोजना साहस उर्जा कम्पनी लिमिटेडले १ अर्ब ५ करोड रुपैयाँ बराबरको प्राथमिक निष्काशन (आईपीओ) निष्काशन गर्ने भएको छ ।

आईपीओ निष्काशन गर्न अनुमति माग्दै कम्पनीले मंसिर २४ गते धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ ।  कम्पनीले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि गरी कूल प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ करोड ५ लाख कित्ता साधारण शेयर जारी गर्न अनुमति माग गरेको हो ।

आईपीओ जारी गर्न कम्पनीले एनआइबीएल एस क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक चयन गरेको छ । आईपीओमा नागरिक लगानी कोषले शेयर प्रत्याभूति (अण्डरराइट) गरेको छ । त्यसमध्ये ३५ करोड स्थानीय बासिन्दालाई र ७० करोड सामुहिक लगानी कोष, कर्मचारी र सर्वसाधारणको लागि छुट्टाएको छ ।

आयोजनाले पहिलो चरणमा प्रभावितका लागि शेयर निष्काशन गर्नेछ। प्रभावितले सेयर खरीद गरेपछि मात्रै सर्वसाधारणका लागि जारी गरिने कम्पनीले जनाएको छ।

साहस उर्जा कम्पनी जलविद्युत आयोजनामा लगानी गर्ने उद्देश्यले २०७० सालमा स्थापना भएको पब्लिक लिमिटेड कम्पनी हो । यस कम्पनीले ८६ मेगावाटको सोलुखोला (दूधकोशी) जलविद्युत परियोजना निर्माण गरिरहेको छ । परियोजनको काम ५७ प्रतिशत भन्दा बढी सम्पन्न भएको कम्पनीले जनाएको छ । कोभिडका कारण आयोजनाको निर्माण कार्य भने प्रभावित भएको छ।

१३.८० अर्ब कुल लगात अनुमान गरिएको यस आयोजना निजी क्षेत्रबाट स्वदेशी लगानीमा निर्माणाधिन नेपालकै हालसम्मको ठूलो परियोजना हो । सोलुखुम्बु जिल्लामा निर्माणाधिन आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाईमा ९ वटा बैंक तथा वित्तीय संस्थाले ८.६५ अर्ब लगानी गरेका छन् ।

कम्पनीले निर्माण गरेको आयोजनाको प्रतिमेगावाट लागत ११ अर्ब ८६ करोड रुपैयाँको अनुमान गरिएको भएपनि निर्माण समय लम्बिएपछि १३ करोड ८० लाख रुपैयाँ संसोधित लागत अनुमान गरिएको छ। कूल लागतको ७३ प्रतिशत ऋण र २७ प्रतिशत शेयर पुँजीबाट जुटाइने कम्पनीले जनाएको छ। कम्पनीले ८ अर्ब ६५ करोड रुपैयाँको ऋणका लागि रेटिङ समेत गराएको छ।

कम्पनीको सञ्चालक समितिको अध्यक्षमा हिमप्रसाद पाठक, सल्लाहकारमा डा. डिल्लीराज खनाल र रामेश्वर खनाल रहेका छन्। हाल २ अर्ब ४५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको प्राथमिक शेयर निष्काशनपछि ३ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ।

प्रकाशित मिति: २८ मंसिर २०७७, आइतबार  ०९ : १५ बजे