काठमाडौँ । देशभर घरजग्गा कारोबार गत आर्थिक वर्षमा सुधार देखिएको छ । देशभरिनै घरजग्गा कारोबार तिन वर्षयताकै उच्च विन्दुमा पुगेको छ भने राजस्व संकलनमा पनि उल्लेख्य वृद्धि भएको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत आर्थिक वर्षमा कुल ५ लाख ३८ हजार १२० लिखत पारित भएका छन् । जुन अघिल्लो वर्षको तुलनामा ८२५ लिखत पारित बढी भएको हो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ५ लाख ३७ हजार २९५ लिखत पारित भएको थियो भने आर्थिक वर्ष २०७९/८० मा ४ लाख ६३ हजार ३२२ मात्र लिखत पारित भएको थियो ।
कारोबार बढेसँगै राजस्व संकलन पनि ३ वर्ष यताकै उच्च भएको छ । अघिल्लो आर्थिक वर्षहरुमा घटेको राजस्व गत वर्ष भने बढेको देशभरको घरजग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा ४९ अर्ब ४ करोड ६० लाख ४५ हजार ३७१ रुपैयाँ राजस्व संकलन भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आर्थिक वर्षमा ७ अर्ब ३ करोड ६७ लाख ६४ हजार २१८ रुपैयाँ बढी राजस्व संकलन भएको हो ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ४२ अर्ब ९२ लाख ८१ हजार १५३ रुपैयाँ राजस्व संकलन भएको थियो । आर्थिक वर्ष २०७९/८० मा ३७ अर्ब ४९ करोड १६ लाख ३९ हजार ४०२ रुपैयाँ राजस्व संकलन भएको थियो ।
विभागले सेवा कर, रजिस्ट्रेसन दस्तुर, अतिरिक्त शुल्क, डोर सुविधा, पुँजीगत लाभकर, विलम्ब शुल्क, नगर पूर्वाधार विकास शुल्क, मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्क, नारायणी तथा राप्ती सभ्यतालगायत शीर्षकमा राजस्व संकलन गर्ने गरेको छ ।










प्रतिक्रिया