काठमाडौँ । हालका दिनहरुमा छिमेकी मुलुक भारत र विश्वको सबैभन्दा ठुलो अर्थतन्त्र अमेरिकाबच तनाव बढदै गएको छ । तनावको मूख्य काराण अमेरिकी सरकारले भारतमाथि लगाएका भारी भन्सार शुल्क हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले भारतीय सामानको आयातमा ५० प्रतिशत सम्म भन्सार शुल्क लगाउने घोषणा गरेको छ । अमेरिकाको यो कदमले भारतलाई सबैभन्दा बढी अमेरिकी भन्सार शुल्कको सामना गर्ने मुलुकहरुको सूचीमा राखेको छ । ह्वाइट हाउसले भन्सार शुल्क वृद्धिको मुख्य कारण भारतले रुससँगको ऊर्जा र रक्षा सम्बन्धलाई निरन्तरता दिनु हो भनेर स्पष्ट पारेका छ ।
अमेरिकाले युक्रेन युद्धकाबिच भारतले रुसबाट तेल खरिद गरिरहनुलाई रुसको युद्ध प्रयासमा आर्थिक सहयोग पुगेको रुपमा लिएको छ । भारतले भने आफ्नो ऊर्जा सुरक्षाका लागि यो आवश्यक भएको र बजारका आधारमा निर्णय लिइएको अडान राख्दै आएको छ । भारतले रुसजस्ता विषयमा अमेरिकी नीतिको पछि नलागेर आफ्नो स्वतन्त्र विदेश नीति र रणनीतिक स्वायत्तता राख्न खोजेको देखिन्छ, जुन कुरा वासिङ्टनलाई मन परेको छैन ।
भारत र अमेरिकाबीचको यो व्यापार तनावको अवस्थाले नेपाललाई नयाँ आर्थिक अवसरको ढोका खोलेको छ । अमेरिकाले भारतीय उत्पादनमाथि अतिरिक्त शुल्क लगाउने घोषणा गरेसँगै नेपाली वस्तुहरुका लागि अमेरिकी बजारमा प्रतिस्पर्धात्मक लाभ देखिएको हो । यस परिस्थितिले नेपाललाई निर्यात वृद्धि र व्यापार विविधिकरणका लागि एक महत्त्वपूर्ण अवसर प्रदान गरेको व्यवसायी तथा विज्ञहरुले बताएका छन् । यसै सन्दर्भमा नेपाल अमेरिका व्यापार संघका अध्यक्ष किरण साखले अमेरिका भारत व्यापार तनावले नेपाललाई तत्कालिन रुपमा धेरै फाइदा पुग्ने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार अमेरिकी बजारमा भारतीय वस्तु महँगो हुँदा नेपाली उत्पादनले सोझो लाभ लिन सक्नेछन् ।
अमेरिकाले भारतीय उत्पादनमा लगाएको उच्च भन्सार शुल्कका कारण नेपाली उत्पादनहरु अमेरिकी उपभोक्ताको लागि सस्तो पर्न जानेछन् । अमेरिकाले नेपालबाट निर्यात हुने वस्तुहरुमा भारतको तुलनामा कम भन्सार शुल्क लगाउने नीति लिएको छ । जसले नेपाली उत्पादनलाई मूल्यमा प्रतिस्पर्धी बनाउनेछ । साखका अनुसार विशेषगरी गलैँचा, तयारी पोशाक, पश्मिना, कुकरको खाना लगायत उत्पादनले अमेरिकी बजारमा राम्रो अवसर पाउन सक्नेछन् । पछिल्लो समय हिमालयन याक र चौरीको दुधबाट बनेको कुकुरको खाना अर्थात छुर्पीले अमेरिकी बजारमा लोकप्रिय हुँदै भएको अवस्थामा यस्ता उत्पादनले थप बजार विस्तार गर्ने अवस्था बनेको छ ।
यसका साथै भारतमा उत्पादनमा उत्पादन लागत बढ्ने र आपूर्ति श्रृंखलामा अवरोध आउने सम्भावनाले गर्दा अमेरिकी कम्पनीहरुले नेपाललाई एक वैकल्पिक उत्पादन केन्द्रको रुपमा हेर्ने वातावरण तयार गर्न सकेको अवस्थामा अझ फाइदा हुने देखिन्छ । नेपालको सस्तो श्रम र उत्पादन लागतको फाइदा उठाउँदै विदेशी लगानी आकर्षित गर्न यो एक सुनौलो अवसर बन्न सक्छ । भारतमा रहेका गार्मेन्ट र कार्पेट जस्ता उद्योगहरुले समेत उच्च अमेरिकी करबाट बच्न नेपालमा उत्पादन सार्न सक्ने विश्लेषण गरिएको छ । यसले नेपालको औद्योगिक विकास र रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान पुर्याउन सक्छ ।
यो व्यापारिक तनावले नेपालको लागि व्यापारिक विविधिकरण गर्नमा एक महत्त्पूर्ण खुड्किलोको रुपमा काम गर्ने छ । हाल नेपालको वैदेशिक व्यापार अधिकांश रुपमा भारतमा निर्भर छ । यो परिस्थितिले नेपाललाई भारतमाथिको परनिर्भरता घटाउँदै अमेरिका लगायत अन्य देशहरुसँगको व्यापार सम्बन्ध बलियो बनाउन प्रेरित गर्नेछ । व्यापार विविधिकरणले देशको अर्थतन्त्रमा पनि योगदान पुर्याउने छ । अमेरिका र भारतबिचको व्यापारिक तनाव नेपालका लागि एक अप्रत्याशित तर महत्त्वपूर्ण अवसरको रुपमा देखा परेको छ ।
सरकारले यस अवसरलाई सदुयोग गर्न आवश्यक नीतिगत सुधार, निर्यात सहजीकरण लगानीमैत्री वातावरण र अमेरिकासँग आवश्यक पहलकदमी गर्नुपर्ने साखको भनाई छ । सरकारले आवश्यक पहलकदमी गर्न सकेमा नेपाली अर्थतन्त्रले उल्लेख्य फड्को मार्न सक्ने देखिन्छ । तर अमेरिकी राष्ट्रपति ट्रम्पको कमजोर र आक्रोशित निर्णय प्रवृत्तिले गर्दा यो अवस्था अझ गम्भीर हुन्छ वा साम्य हुन्छ भन्न सकिने अवस्था नरहेकोले गर्दा नेपालले आफ्नो बाटो र नीति दरिलो बनाउनुपर्ने आवश्यक हुन्छ ।










प्रतिक्रिया