उत्पादनमुखी बालीनालीमा किसानहरूलाई आकर्षण बढाउन अनुदान


पर्वत । खाद्यान्न र तरकारीमा आत्मनिर्भर बन्दै गएको जिल्लामा कृषिजन्य वस्तुको निर्यातबाट ६५ करोड रुपैयाँ भन्दा बढी भित्रिएको छ । मुख्य छवटा बालीनालीलाई प्राथमिकता दिएर उत्पादन गरिएको कृषिजन्य वस्तुबाट आर्थिक वर्ष २०८१ र ८२ मा ६५ करोड ३० लाख ४७ हजार रुपैयाँको कारोबार भएको हो । कृषि ज्ञान केन्द्रका अनुसार आलु, धान, अलैँची, तकारीबाली, मकै र सुन्तला जातका फलफूलको बिक्रीबाट जिल्लाभरका किसानले उक्त कारोबार गरेका हुन् ।

यहाँबाट मुख्यतया आलु र सुन्तला बढी मात्रामा निर्यात हुने गर्छ भने धान, मौसमी तथा बेमौसमी तरकारी, अलैँची र मकै तथा काँक्रोको मूल बीउ उत्पादन गरी बिक्री गरिँदै आएको छ । कृषि ज्ञान केन्द्र प्रमुख परशुराम अधिकारीका अनुसार गत आवमा जिल्लामा खाद्यान्न बाली ७२ हजार ९५० मेट्रिक टन उत्पादन भएको छ । मकै ३३ हजार १२० मेट्रिक टन, गहुँ ५ हजार २२० मेट्रिक टन उत्पादन भएको छ ।

त्यसैगरी, जौँ ५४ मेट्रिक टन, फापर १ सय मेट्रिक टन, कोदो ७ हजार ८५० मेट्रिक टन, दलहन बाली ५ सय २७ मेट्रिक टन उत्पादन भएको थियो । जिल्लाभर तेलहन बाली ३ सय ६२ मेट्रिक टन, आलु २० हजार ३३० मेट्रिक टन, तरकारी १२ हजार ६१० मेट्रिक टन, सुन्तला ४ हजार १५ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लामा सुन्तलासहित अन्य जातका फलफूल गत आवमा १३ हजार ३०७ मेट्रिक टन उत्पादन भएको कार्यालयल जनाएको छ । कार्यालयका अनुसार आलुबाट गत आवमा ७ करोड ७३ लाख रुपैयाँ, बीउ तथा तरकारीबाट ११ करोड रुपैयाँ, सुन्तलाबाट २४ करोड ८४ लाख रुपैयाँ, मौरीको महबाट ४ करोड ५० लाख रुपैयाँ, अलैँचीबाट करोड ८१ लाख रुपैयाँ भित्रिएको छ । यस्तै धान, कोदो र मकैसमेत उल्लेख्य मात्रामा निर्यात भएको केन्द्रले जनाएको छ ।

ज्ञान केन्द्रले पछिल्ला आर्थिक वर्षहरुमा उत्पादनमुखी बालीनालीमा किसानहरूलाई आकर्षण बढाउँदै लगेको छ । यसका लागि किसानलाई हरेक कार्यक्रममा ५० देखि ९० प्रतिशतसम्म अनुदान वितरण गरेको छ । केन्द्रले गत आवमा ४ करोड रुपैयाँ भन्दा बढी अनुदान वितरण गरेको जनाएको छ ।

केन्द्रले गत वर्ष २ सय ३ वटा मिनी पावरटिलर, २५ वटा कुटानी पिसानी मिल, ४१ वटा स्पे्रयर, ५ वटा ब्रसकटर वितरण गरेको छ । यस्तै सिँचाइका लागि ५ हजार ९३५ मिटर लामो पाइप, ७ सयवटा हिलट्याङ्क र ३ सय ६७ मिटर लामो कुलो मर्मतका लागि पनि अनुदान वितरण गरेको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए । यान्त्रिक उपकरणले किसानलाई लागत र समय घटाएको कार्यालयले जनाएको छ ।

पर्वतमा सञ्चालित मकै बीउ उत्पादन तथा मकैबाली प्रवर्द्धन आयोजना, परम्परागत बाली प्रवर्द्धन आयोजना, तरकारी, खाद्यान्न, फलफूल विकास प्रवर्द्धन आयोजनाजस्ता कार्यक्रम प्राथमिकतामा राखेर सञ्चालन गरिएको थियो । वर्षभरिमा २ सय ८५ स्थानमा कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यालयले गत आवमा वित्तीय प्रगति ८० प्रतिशत र भौतिक प्रगति ८० दशमलव ७५ प्रतिशत गरेको जनाएको छ ।

गण्डकी प्रदेशअन्तर्गतको उक्त कार्यालयमा चालु आवका लागि ५ करोड ६४ लाख १७ हजार रुपैयनन् बजेट विनियोजन भएको छभने सङ्घ सशर्ततर्फ २१ लख ४३ हजार रुपैयाँ बजेट विनियोजन भएको कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार  ११ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।