माउन्टेन इनर्जी र युनाईटेड इदीमर्दीको दोस्रो बजारमा कहिले खुल्छ कारोबार ?

0
Shares

माउन्टेन इनर्जी नेपाल र युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरले जारी गरेको साधारण शेयर सूचीकरणको प्रकृयामा ढिलाई भएको छ । दुबै कम्पनीले शेयर सूचीकरणको प्रकृया अगाडि बढाएर साताको सुरुवाती चरणदेखि नै शेयर कारोबार थालनी गराउने तयारी गरेपनि ढिलाई भएको हो ।

हाल माउन्टेन इनर्जी नेपालको शेयर सूचीकरणको प्रकृया सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सम्पन्न भैसकेको छ ।

सीडिएससीमा सूचीकरण प्रकृया सम्पन्न भएसँगै कम्पनीको शेयर गोलाप्रथाबाट प्राप्त गरेका १ लाख ८३ हजार २१ जना आवेदकलाई १० कित्ताका दरले र ५ जना आवेदकलाई ११ कित्ताका दरले उनीहरुकै हितग्राही खातामा आइतबार साँझ नै जम्मा भैसकेको छ ।

दोस्रो बजारमा कारोबारका लागि कम्पनीले शेयर सूचीकरणका लागि नेप्सेमा निवेदन दिएको छ । नेप्सेका अनुसार कम्पनीको शेयर सूचीकरणका लागि हाल फाइल अध्ययन भैरहेको छ । कम्पनीले बुझाएको कागजात अध्ययन पछि सूचीकरण सम्झौताका लागि मंगलबार बुधबारभित्रै सम्झौता हुनसक्ने नेप्से स्रोतले जानकारी दिएको छ ।

माउन्टेन इनर्जी नेपालका एडमिन अफिसर दिवाकर प्याकुरेलले पनि कम्पनीले बुधबार वा बिहीबारभित्रै शेयर सूचीकरणको प्रकृया सम्पन्न गर्नेगरी कार्य अगाडि बढाएको जनाएको छ । यसअनुसार कम्पनीको शेयर बुधबार नै सूचीकरण सम्झौता भएमा यहि बिहीबारदेखि नै कारोबार आउनसक्ने सम्भावना बढी रहेको बताइन्छ । केही ढिलाई भएपनि आगामी आइतबारदेखि कम्पनीका शेयर दोस्रो बजारमा कारोबारमा आउने भएको छ ।

कम्पनीले कार्तिक २६ देखि मंसिर ३ गतेसम्म कुल निष्काशित शेयरमध्ये १९ लाख ६८ हजार २७ कित्ता शेयरमध्ये ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि र ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई छुट्याइएर १८ लाख ३० हजार २६५ कित्ता साधारण शेयर भने सर्वसाधारणमा जारी गरेको थियो ।

उता युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरको शेयर पनि सीडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचीकरणको अन्तिम चरणमा रहेको छ । कम्पनीको शेयर सूचीकरणका लागि अध्ययन गरिरहेको सीडिएससीले कम्पनीलाई आवश्यक प्रकृया पुर्याएर जवाफ फर्काउने तयारी गरेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले सीडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जवाफ पठाउने वित्तीकै नेप्सेमा सूचीकरणको प्रकृया अगाडि बढाउने नोटबजारलाई जानकारी दिएको छ ।

कम्पनीको शेयर सूचीकरण सीडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा नै बाँकी रहेकाले नेप्सेमा सूचीकरण भई यसै साताभित्र कारोबारमा आउने सम्भावना भने न्यून देखिएको छ । किनभने नेप्सेमा शेयर सूचीकरण भएको दोस्रो दिनदेखि मात्र शेयर कारोबारमा आउने व्यवस्था रहेको छ । यसअनुसार कम्पनीको शेयर भने आगामी आइतबारभन्दा छिटो दोस्रो बजारमा कारोबार हुनसक्ने सम्भावना कमै देखिएको छ ।

कम्पनीले मंसिर ३ गतेदेखि ७ गतेसम्ममा कुल निष्काशित शेयरमध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषहरु र र १७ हजार ४७८ कित्ता कर्मचारीहरुका लागि छुट्याइएर बाँकी रहेको ८ लाख १२ हजार ७३६ कित्ता शेयर सर्वसाधारणको लागि जारी गरेको थियो। जसमा आवेदन गरेकामध्ये ८१ हजार २६७ जनाले गोलाप्रथाबाट १० कित्ता र ६ जनाले ११ कित्ता शेयर प्राप्त गरेका थिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।