एशियन थाई फुड्सको आइपीओ निष्काशन, बिक्री प्रबन्धकमा हिमालयन सेक्युरिटिज नियुक्ति


काठमाडौँ । रमपम चाउचाउबाट आफ्नो अलग्गै ब्राण्ड बनाएको एशियन थाई फुड्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । जसअनुसार मंगलबार कम्पनीले हिमालय सेक्युरिटिज बैंकर लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्ति गर्दै सो सम्बन्धी सम्झौता समेत गरेको छ ।

यो सम्झौताले एशियन थाई फूड्स लिमिटेडलाई नयाँ व्यवसायिक यात्रा तथा कम्पनीको विस्तारमा थप सहयोग हुने जारी विज्ञप्तिमा जनाइएको छ ।

सम्झौतामा एशियन थाई फुड्सको तर्फबाट शिवरतन शारडा (अध्यक्ष), महेश जाजु (प्रबन्ध निर्देशक), राधेश्याम शारडा (कार्यकारी सञ्चालक) र आशीष जाजु (सञ्चालक)ले हस्ताक्षर गरेका छन् भने हिमालय सेक्युरिटिज बैंकर लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभाषबहादुर श्रेष्ठ र नायव महाप्रबन्धक शंकर राजबाहकको प्रतिनिधित्व रहेको थियो ।

हिमालय सेक्युरिटिज बैंकर लिमिटेड नेपाल धितोपत्रबोर्डबाट अनुमतिप्राप्त मर्चेन्ट बैंकर संस्था रही मर्चेन्ट तथा इन्भेष्टमेन्ट्स बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

एशियन थाई फूड्सले एफएमसीजी प्रडक्ट्स अन्तर्गत चाउचाउ तथा स्न्याक्सका विभिन्न आइटम उत्पादन गर्दै आइरहेको छ । यो उद्योगका उत्पादन हाल ३० भन्दा बढी देशमा निर्यात हुने गरेको छ ।

प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार  १४ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।