फिक्कल (इलाम) । इलाम नगरपालिका–१० गोदकस्थित राजदुवाली टप्पुमा निर्माणाधीन अन्तरराष्ट्रियस्तरको ‘माइभगवती रङ्गशाला’ बजेट अभावका कारण अलपत्र परेको छ ।
७ वर्षअघि निर्माण सुरु भएको सो रङ्गशाला पछिल्लो तीन आर्थिक वर्षदेखि निरन्तर बजेट विनियोजन नहुँदा अधुरै छाडिएको हो । अहिले निर्माणस्थलल झाडीले ढाकिएको छ भने निर्माण भएका केही संरचना जीर्ण बन्दै गएका छन् ।
रङ्गशाला निर्माणका लागि हालसम्म कोशी प्रदेश सरकार र इलाम नगरपालिकाको समपुरक अनुदानमार्फत ४ करोड ८ लाख २३ हजार रुपैयाँ खर्च भएको छ । सो रकमबाट ४ चरणमा पर्खाल, प्याराफिट र रेलिङ निर्माणको काम सम्पन्न भएका छन् । नगरपालिकाका इञ्जिनियर क्षितिज दाहालका अनुसार अहिलेसम्म समग्रमा रङ्गशालाको करिब १० प्रतिशत काम मात्र भएको छ ।
समपूरक अनुदानमार्फत रङ्गशाला निर्माणका लागि आर्थक वर्ष २०७६/७७ मा १ करोड ३६ लाख रुपैयाँ, आव ०७७/०७८ मा ८४ लाख १९ हजार रुपैयाँ, आव ०७८/०७९ मा ८४ लाख १९ हजार रुपैयाँ र आव २०७९/८० मा १ करोड २ लाख ९८ हजार रुपैयाँ विनियोजन भएको थियो । पछिल्लो ३ आर्थिक वर्षदेखि भने कुनै बजेट विनियोजन हुन सकेको छैन ।
कोशी प्रदेश सरकारसँग पटकपटक बजेट माग गर्दा सुनुवाइ नभएकाले रङ्गशालाले पूर्णता पाउन नसकेको इलाम नगरप्रमुख केदार थापाले बताए। ‘रङ्गशाला निर्माणका लागि हामीले प्रदेश सरकारसँग पटक पटक माग गरेका छौँ । तर सुनुवाइ भएको छैन”, उनले भने, “नगरपालिकाले एक्लैले बनाउन सक्दैन, माथिल्लो सरकारको सहयोगविनाको विकल्प छैन ।”
करिब १ सय २० रोपनी क्षेत्रमा बन्ने यो रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) अनुसार निर्माण सम्पन्न गर्न करिब ५० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । रङ्गशाला निर्माणले पूर्णता पाएपछि फुटबल र क्रिकेटसहितका विभिन्न राष्ट्रिय र अन्तरराष्ट्रिय प्रतियोगिता आयोजना गर्न जिल्लावासी आशावादी छन् ।










प्रतिक्रिया