सिरहा । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ गण सिरहा अन्तर्गतको गस्ती टोलीले भन्सार छलीका सामानसहित बोलेरो गाडी नियन्त्रणमा लिएको छ ।
बुधबार राति करिब साढे ९ बजे मिर्चैया नगरपालिका–९ घुर्मी पुलस्थित पूर्व–पश्चिम राजमार्गमा जाँच गर्ने क्रममा सशस्त्र बेश क्याम्प मिर्चैयास्थित सशस्त्र प्रहरी निरीक्षक अनिल खड्काको कमाण्डमा खटिएको गस्ती टोलीले स १ च १०४८ नम्बरको सिंगल क्याप बोलेरो गाडी नियन्त्रणमा लिएको हो ।
गाडीमा बिलबिजक नभएको चिनी ४० बोरा, कविर सुर्ती २० बोरा र केराउ ५ बोरासमेत गरी करिब ३ लाख २३ हजार रुपैयाँ मूल्य बराबरको सामान फेला परेको सशस्त्र प्रहरी नम्बर ७ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले जानकारी दिए। उनका अनुसार सो बोलेरो गाडीको मूल्य ९ लाख ५० हजार रुपैयाँ रहेको र सामानसहित जम्मा १२ लाख ७३ हजार रुपैयाँ बराबर रहेको छ ।
साथै गाडी चालक उदयपुरको कटारी नगरपालिका–१३ मयाङखु बस्ने २१ वर्षीय सागर खत्रीलाई समेत नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी उपरीक्षक भण्डारीले जानकारी दिए। नियन्त्रणमा लिइएको सामान तथा गाडी भन्सार कार्यालय बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।










प्रतिक्रिया