म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले उत्पादनमा आधारित अनुदान दिन थालेपछि किसानहरू उत्साहित भएका छन् ।
गाईभैँसी र बाख्रापालकलाई दिँदै आएको ‘उत्पादनका आधारमा प्रोत्साहन’ कार्यक्रम प्रभावकारी बनेपछि यो वर्षदेखि सागसब्जी खेती गर्ने किसानलाई पनि उपलब्ध गराउन बजेट विनियोजन गरेको छ । मासु, दूध र तरकारीमा उत्पादन वृद्धि गरी आत्मनिर्भर बनाउन कृषकलाई उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिएको नगर प्रमुख सुरत केसीले बताए ।
“किसानलाई व्यावसायिक बनाउन र उत्पादन बढाउन उत्पादन गरेपछि नगद प्रोत्साहन पाउने नीति सफल भएको छ”, उनले भने, “बजेट बढाएर साना किसानलाई पनि समेट्ने गरी कार्यविधि बनाएका छौँ ।”
चालु आव २०८२/८३ मा उत्पादनमा आधारित अनुदानका लागि दूधमा १५ लाख रुपैयाँ, साजसब्जीमा १० लाख रुपैयाँ र मासुमा ७ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको नगरपालिकाले आवेदन संकलन गरेर लाभग्राही छनोटको प्रकृयाअघि बढाएको छ ।
आव २०८१/८२ मा १८ जना गाईभैँसीपालक कृषकले १० हजारदेखि ४५ हजार रुपैयाँसम्म गरी कूल ५ लाख ५० हजार रुपैयाँ र २८ जना बाख्रापालकले ७ लाख ५० हजार रुपैयाँ अनुदान पाएका नगरपालिकाका पशु चिकित्सक आशिष सापकोटाले बताए ।
आव २०८०/८१ मा ३२ जना बाख्रापालक कृषकले ६ लाख ४४ हजार ९८० रुपैयाँ र १८ जना दुग्ध उत्पादक कृषकले ५ लाख रुपैयाँ अनुदान पाएका थिए । बेनी नगरपालिका–७ कुरिलाखर्कका भैँसीपालक कृषक सुरेश ढुङ्गानाले उत्पादनमा आधारित अनुदानले किसानलाई प्रोत्साहन मिलेको, उत्साहित बनाएको र व्यवहारिक भएको बताए ।
बेनी नगरपालिकाले उत्पादनका आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८० बनाएको छ । कार्यविधिअनुसार कम्तीमा ८ वटा माउबाख्रा र ३ वटा दूध दिने गाईभैँसी पालेका किसानले अनुदान पाउँछन् । किसानले पालेका पशुको सङ्ख्याको आधारमा वर्गीकरण गरेर अनुदान पाउने व्यवस्था मिलाइएको छ ।
पशुपालक कृषकलाई व्यावसायिक बनाउन र टिकाउन कार्यक्रमले सहयोग पुगेको बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताए । कृषि क्षेत्रलाई जोड दिएको बेनी नगरपालिका–४ सिंगामा चिस्यान गृह सञ्चालन गरेको छ । वडा नम्बर –८ कालीपुलमा कृषि बजार सञ्चालन गर्न भवन निर्माणाधीन छ ।












प्रतिक्रिया