वैदेशिक व्यापार : १४ वटा भन्सार नाकाबाट निर्यात शून्य हुँदा आयात भने सबै नाकाबाट


काठमाडौँ । नेपालका अधिकांश भन्सार नाकाहरु आयातको लागि मात्र सीमित रहेको पाइएको छ । भन्सार विभागको तथ्यांक अनुसार नेपालको वैदेशिक व्यापारमा सञ्चालनमा रहेका २७ वटा भन्सार नाकामध्य १४ नाकाबाट हुने वस्तु तथा सेवाको निर्यात शून्य देखिएको हो ।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा २७ वटा नाकाबाट आयात हुँदा १३ वटा नाकाबाट निर्यात भएको भन्सार विभागले जनाएको छ ।

तथ्यांक अनुसार सो अवधिमा रसुवा, तातोपानी, सुनौली, चोभार, सुनसरी, जनकपुर, महेशपुर, भद्रपुर, ड्राइपोर्ट, सिराह, सेती र टाँढी नाकाबाट शून्य निर्यात छ । जबकि यी नाकाबाट आयात भने उल्लेख्य छ ।

एक महिनाको अवधिमा सबैभन्दाबढी आयात विरगञ्ज भन्सारबाट भएको छ । सो नाकाबाट ६७ अर्ब ९३ करोड ८४ लाख ५७ हजार रुपैयाँ बराबरको वस्तु तथा आयात भएको छ । भैरहवा भन्सारबाट २४ अर्ब ३७ करोड रुपैयाँ, विराटनगर भन्सारबाट २० अर्ब ३६ करोड रुपैयाँ, त्रिभुवन अन्तराष्ट्रि विमानस्थलबाट ११ अर्ब ९३ करोड रुपैयाँ र नेपालगञ्ज भन्सारबाट ५ अर्ब ३० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको विभागले जनाएको छ ।

रसुवा भन्सारबाट ३५ करोडको आयात हुँदा निर्यात शून्य

चालु आवको पहिलो महिनामा रसुवा नाकाबाट ३५ करोडको आयात हुँदा निर्यात शून्य भएको छ । गत असार २४ गते आएको भिषण वर्षाका कारण भन्सारमा ठूलो मात्रामा धनजनको क्षति भएको छ । भन्सार कार्यालयका सुचना अधिकारी रविन्द्र प्रसाद प्याकुरेलका अनुसार भन्सार प्रक्रियामा रहेका करिब ३५/४० वटा नयाँ गाडी र अन्य मालसामान नेपाल भित्रिएका कारण र्आशिक रुपमा आयात देखिएपनि नयाँ आयात भने पूर्ण रुपमा बन्द छ ।

असार १४ गते आएको बाडीले भन्सार यार्डमा पनि क्षति पुर्याएको थियो । जसका कारण चिनबाट आयात भएर भन्सार प्रक्रियामा रहेका गाडी बाढीले बगाएको थियो ।

प्रकाशित मिति: ९ भाद्र २०८२, सोमबार  १४ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।