निर्जीवन बीमा कम्पनीको मुद्दती निक्षेपमा ५० अर्ब, शेयरमा ५ अर्ब बढी लगानी

0
Shares

निर्जीवन बीमा व्यवसाय गर्ने नेपाल पुनर्बीमा सहितका २१ कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा ५० अर्ब बढी रकम लगानी गरेको पाइएको छ ।  विभिन्न क्षेत्रमा ६० अर्ब बढी रकम लगानी गरेका बीमा कम्पनीहरुले सूचीकृत कम्पनीहरुको साधारण शेयरमा ५ अर्ब बढी लगानी गरेका छन् ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा नेपालमा सञ्चालनमा रहेका पुनर्बीमा र २० निर्जीवन बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा ६० अर्ब ४६ करोड ३४ लाख ७६ हजार रुपैयाँ लगानी गरेका हुन् । जसमा पुर्नरबीमा कम्पनीको २५ प्रतिशत बढी हिस्सा रहेको छ । पुर्नरबीमा कम्पनीले कुल १५ अर्ब ४६ करोड ५८ लाख लगानी गरेको छ ।

कम्पनीहरुले यस अवधिमा नेपाल सरकारको बचतपत्र तथा ऋणपत्र, ‘क’ वर्गको बैंकको मुद्दती निक्षेप, ‘ख’ बर्गको बैंक तथा वित्तीय क्षेत्र, ‘ग’ बर्गको बैंक तथा वित्तीय क्षेत्र, सूचीकृत पब्लिक कम्पनीको साधारण शेयर, कृषि, पर्यटन र जलश्रोत लगाएतका पूर्वाधार, म्युचअल फण्ड लगायतका क्षेत्रमा लगानी गरेका छन् ।

सबैभन्दा धेरै लगानी बैंक तथा वित्त कम्पनीको मुद्दती निक्षेपमा

बीमा समितिले उपलब्ध गराएको तथ्याकं अनुसार चालु आवको पहिलो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरुले बैंक तथा वित्त कम्पनीको मुद्दती निक्षेपमा सबैभन्दा बढी लगानी गरेका छन् ।

बैंक तथा वित्त कम्पनीहरुको मुद्दतिमा गरेको कुल लगानीमध्ये क बर्गको बैंकको मुद्दतीमा ४२ अर्ब ३९ करोड ४५ लाख ३१ हजार रुपैयाँ लगानी गरेका छन् ।

त्यस्तै, ‘ख’ वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दतिमा ५ अर्ब ९२ करोड १४ लाख रुपैयाँ लगानी गरेका छन् भने ग बर्गको बैंक तथा वित्त कम्पनीहरुको मुद्दतिमा ८५ करोड ३३ लाख ५० रुपैयाँ बढी लगानी गरेका छन् । नेपाल पुनर्बीमा कम्पनीले २५ करोड रुपैयाँ र प्रभु इन्स्योरेन्सले ६ करोड ९१ लाख पूर्वाधार विकास बैंकको मुद्दती निक्षेपमा समेत राखेका छन ।

सूचीकृत पब्लिक कम्पनीको डिबेञ्चरमा लगानी

यस अवधिमा नेपाल पूर्नरबीमा कम्पनी सहति २० निर्जीवन बीमा कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीको डिबेञ्चरमा १६ करोड ७८ लाख रुपैयाँ लगानी गरेका छन् ।

साधारण शेयरमा लगानी

यस अवधिसम्ममा निर्जीवन व्यवसाय गर्ने बीमा कम्पनीहरुले साधारण शेयरमा ५ अर्ब ३९ करोड ८६ लाख रुपैयाँ, म्युचअल फण्ड र नागरिक लगानी कोषमा कुल ३३ करोड ९१ लाख रुपैयाँ र अन्य क्षेत्रमा ९ करोड २८ लाख रुपैयाँ लगानी गरेका छन् । त्यस्तै, निर्जीवन बीमा कम्पनीहरुले नेपाल सरकारको बचत तथा ऋणपत्रमा ६३ करोड ३८ लाख २५ हजार रुपैयाँ लगानी गरेका छन् ।

बीमकको लगानी निर्देशिका, २०७५ मा बीमा कम्पनीहरुले लगानी गर्न पाउने क्षेत्र निर्धारण गरिएको छ । सोही व्यवस्था अनुरुप बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा लगानी गर्न पाउने व्यवस्था रहेको छ । उक्त निर्देशिकाबमोजिम बीमा कम्पनीहरुले घरजग्गा व्यवसायमा, साधारण शेयरमा, ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर (साधारण शेयरमा परिणत नहुने) र ऋणपत्र, धितोपत्र बोर्डबाट अनुमति लिएर विनिमय बजारका सूचीकृत कम्पनीको ऋणपत्रमा लगानी गर्न सक्ने छन् ।

त्यस्तै कम्पनीहरुले घरजग्गा व्यवसायमामा कुल टेक्निकल रिजर्भको ५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था रहेको छ ।  त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त धितोपत्र विनिमय बजारमा सूचीकृत लिमिटेड कम्पनीको साधारण शेयरमा कुल टेक्निकल रिजर्भको दश प्रतिशतसम्म बीमा कम्पनीहरुले लगानी गर्न पाउने व्यवस्था रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।