झापाको बिर्तामोड र दमकमा पुनः निषेधाज्ञा


झापा । झापामा जिल्ला प्रशासन कार्यालयले पुनः कर्फ्यू आदेश जारी गरेको छ । प्रशासनले बिर्तामोड र दमकमा आज बिहान साढे १० देखि साँँझ ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले सोमबार साँझ लगाइएको कर्फ्यू आदेश बिहान ५ बजेदेखि हटाइए पनि कर्फ्यू हटेसँगै झापामा बिहानदेखि आन्दोलन चर्किएपछि पुनः कर्फ्यू आदेश जारी गर्नु परेको बताए । बिर्तामोडको पूर्वमा बसपार्क छिर्ने मोडसम्म, पश्चिममा रामचोकसम्म, उत्तरमा महानन्दचोकसम्म, दक्षिणमा सैनिकमोडसम्म कर्फ्यू आदेश जारी गरिएको हो ।

उता दमकमा पूर्वमा रतुवा पुल, पश्चिममा दमक उद्योग वाणिज्य सङ्घको कम्प्लेक्स, उत्तरमा हिमालय माध्यमिक विद्यालय र दक्षिणमा इलाका प्रशासन कार्यालयदेखि २०० मिटर दक्षिणसम्म कर्फ्यू आदेश जारी गरिएको हो । आदेश जारी गरिएको उक्त चार किल्लाभित्र कसैले पनि आवतजावत गर्न, भेला हुन, जुलुस प्रदर्शन गर्न, बैठक र घेराउ गर्न नपाउने कर्फ्यू आदेशमा जनाइएको छ ।

आन्दोलनकारीले बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतारा प्रसाईको घरमा आागजनीको प्रयास गरेको छ भने बिर्तामोडस्थित नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा आगजनी गरेको छ । योसँगै जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको हो ।

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार  १४ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।