ब्रोकर कमिशन दर दक्षिण एशिया कै सस्तो, थप ३३ प्रतिशत घट्दा के होला ?

0
Shares

धितोपत्र बजारमा शेयरको कारोबार गर्दा धितोपत्र ब्यवसयाीलाइ तिर्नुपर्ने शुल्क दक्षिण एशियाकै सस्तो रहेको छ । दक्षिण एसियाका ७ देश मध्ये नेपाली पूँजी बजारमा लगानीकर्ताका लागि कारोबार शुल्क थोरै लाग्ने गरेको अध्ययन देखाएको हो ।

धितोपत्र दलाल कम्पनीले शेयर कारोबारमा दिने गरेको शुल्क घटाउनुपर्ने मागका सम्बन्धमा भएको अध्ययन अनुसार पनि दक्षिण एशियाली शेयर बजारमा नेपालमा न्यून कारोबार शुल्क रहेको देखिएको छ ।

नेपालको सन्दर्भमा लगानीकर्ताले धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिने कमिशन पनि धितोपत्र दलाललाई नै एकमुष्ट गरेर बुझाउनु पर्दा धेरै देखिएको अध्ययनले देखाएको छ ।

अध्ययन प्रतिवेदनले धितोपत्र बोर्डले लिने शुल्क, नेप्सेले लिने र दलाल कम्पनीले लिने शु्ल्क छुट्टा छुट्टै गर्नुपर्ने सुझाव पनि दिएको छ ।

अहिले लगानीकर्ताले धितोपत्र बोर्डलाई छुट्टै तिर्ने भएपनि नेप्सेले भने धितोपत्र दलालले लिएको कमिसनको २० प्रतिशत लिँदै आएको छ । हाल ब्रोकर कमिशनको रुपमा न्यूनतम ०.४० प्रतिशतदेखि ०.६० प्रतिशतसम्म शेयर खरिद बिक्री बापत लगानीकर्ताहरुले तिर्दै आइरहेका छन् ।

शेयर कारोबार गर्दा हाल ५० हजारसम्म ०.६० प्रतिशत, ५० हजारभन्दा माथि ५ लाखसम्म ०.५५ प्रतिशत र ५ लाखदेखि २० लाखसम्म कारोबारमा ०.५० प्रतिशतसम्म लगानीकर्ताले कमिसन तिर्नुपर्दछ । यसैगरी, २० लाखदेखि १ करोडसम्म ०.४५ प्रतिशत र १ करोडभन्दा माथिको कारोबार गर्दा ०.४० प्रतिशत लगानीकर्ताहरुले ब्रोकरहरुलाई कमिसन तिर्दै आएका छन् । यो ब्रोकर कमिसनमध्ये नेप्सेले २० प्रतिशत र नेपाल धितोपत्र बोर्डले ०.६० प्रतिशत लैजान्छ ।

दक्षिण एशियाली देशमा कहाँ कति छ कमिशन ?

श्रीलंकाः

१० करोड सम्मको कारोबारमा ०.६४ प्रतिशत र सो भन्दा माथिको कारोबारमा ०.२५ प्रतिशतमा नघट्ने गरि आपसी सहमतिमा ।

पाकिस्तानः

पहिला अधिक्तम २.५ प्रतिशतको सीमा राखी खुल्ला छोडिएकोमा विभिन्न विकृती देखा परेपछी न्युनतम ०.२५ प्रतिशतको सीमा तोकि ०.२५ प्रतिशत देखि २.५ प्रतिशतसम्म खुल्ला छोडिएको ।

बङ्गलादेशः

अधिकतम १ प्रतिशतको सीमा तोकि खुल्ला छोडिएको ।

भारतः

अधिकतम २.५ प्रतिशतको सीमा तोकि खुल्ला छोडिएको ।

माल्दिभ्सः

०.५ प्रतिशत देखि १.५ प्रतिशत सम्म ।

भुटानः

०.६ प्रतिशत देखि १ प्रतिशत सम्म ।

नेपालः

०.३२ प्रतिशत देखि ०.४८ प्रतिशतसम्म

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।