सरकारले राष्ट्र बैंकमाथि हस्तक्षेप गरेको छैन : अर्थमन्त्री वाग्ले


काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले राष्ट्र बैंक तथा गभर्नरको स्वायत्ततामाथि हस्तक्षेप नगरेको बताएका छन् । शुक्रबार अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले यस्तो बताएका हुन् ।

राष्ट्र बैंकले बनाउने मौद्रिक नीति, परिपत्र तथा निर्णय क्रममा सरकारले अनावश्यक हस्तक्षेप नगर्ने उनले बताए । सरकारले अर्थसचिवमार्फत राष्ट्र बैंकलाई दबाबमा राख्ने भन्ने भ्रम नराख्न उनले आग्रह गरे ।

नेपाल राष्ट्र बैंकको गभर्नर पद शक्तिशाली रहेको उनको भनाइ छ । अर्थसचिव वित्तीय र मौद्रिक नीतिबीच समन्वय गराउने सेतुका रूपमा मात्रै रहने उनले बताए । सरकारको बजेटको मर्मअनुकूल मौद्रिक नीति आउनुपर्ने व्यवस्था स्थापित अभ्यास भएको उल्लेख गर्दै उनले बजेटमै त्यससम्बन्धी व्यवस्था हुने उल्लेख गरे ।

उनले भने, ‘अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन । अहिले गभर्मेन्टले एकदमै धेरै हस्तक्षेप गर्छ कि भन्ने खालको भाष्य खडा गर्न खोजिएको छ, यथार्थमा त्यस्तो छैन । गभर्मेन्टको बजेट कुन मर्मबाट आयो र बजेटमा नै लेखिएको हुन्छ कि यो बजेटलाई सहयोग हुनेगरी मौद्रिक नीति आउनेछ भनेर मैले बोलेको छु वक्तव्यमा । यो हाम्रो स्थापित प्राक्टिस हो । फिस्कल र मनिटरी पोलिसी को(अर्डिनेट हुन्छ र त्यो को(अर्डिनेट गराउने सेतु, ब्रिज चाहिँ अर्थ सचिव हुन्छ । उसले त्यहाँ गएर भाँजो हाल्ने, भिटो लगाउने, गभर्नरको चाहिँ उल्ट्याउने गर्ने भन्ने त्यो अहिलेसम्म भएको पनि छैन, त्यो हुँदा पनि हुँदैन । तर गभर्मेन्टको कम्प्लिट्ली अगेन्स्टमा गएर म लिएर आउँछु भन्यो भने त्यहाँ एउटा ब्रेक लगाउनुपर्ने पनि हुन्छ ।’

प्रकाशित मिति: २६ भाद्र २०८३, शुक्रबार  १६ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।