तनहुँ । जिल्लामा ७ हजार ९२५ रोपनी क्षेत्रफलमा लगाइएको सुन्तला जात फलफूलका नयाँ बगैँचा व्यवस्थापन तथा सुदृढीकरण कार्यक्रम सुरु गरिएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रले आव २०८१÷८२ मा सुन्तला जातका फलफूल बगैँचा स्थापना तथा विस्तारअन्र्तगत उक्त कार्यक्रम गरेको हो ।
कार्यक्रमबाट कृषक परिवार र रोजगारीमा आबद्ध गरी छ सय बढी स्थानीय प्रत्यक्ष लाभान्वित भएका कृषि प्रसार अधिकृत दिनकरमणि आचार्यले जानकारी दिए । उनका अनुसार ४३ रोपनी क्षेत्रफलमा सुन्तला जात फलफूलको नयाँ बगैँचा स्थापना गरिएको छ । यसबाट २७ कृषकका परिवार लाभान्वित भएका छन् भने छ जनाले रोजगारी पाएका छन् ।
बगैँचा व्यवस्थापन तथा सुदृढीकरणका लागि ९ लाख ७५ हजार ५९० किलो गोठेमल, ५० हजार ८७८ किलो पिना, २ हजार ३०९ किलो चुना, १ हजार ५४५ किलो निलो तुथो, ४० किलो रेडिमेट बोर्डो मिश्रण र २ रोल मल्चिङ प्लाष्टिक करिब २० रोपनी क्षेत्रफलमा रहेका ‘ग्रिनिङ रोग’का बिरुवा हटाई पुनः रोपण कार्यक्रम सञ्चालन भएको कृषि प्रसार अधिकृत आचार्यले जानकारी दिए । उनले भने, “३०० रोपनी कलमी बिरुवा रोपण कार्य सम्पन्न भइसकेको छ ।”
सुन्तला जात फलफूलका नयाँ बगैँचा व्यवस्थापन तथा विस्तार कार्यक्रमका लागि ९९ लाख रुपैयाँ बजेट विनियोजन भएको सो कार्यालयले जनाएको छ । आव २०८०/८१ मा १ हजार ६५७ हेक्टर क्षेत्रफलमा सुन्तला बाली उत्पादन हुँदै आएकामा आव २०८१÷८२ मा वृद्वि भई १ हजार ६७० हेक्टर क्षेत्रफल पुगेको छ ।
जिल्लामा विभिन्न कार्यक्रममार्फत २६१ रोपनी क्षेत्रफलमा विस्तार गरी ५ हजार ५२२ बिरुवा लगाइएको कार्यालय प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए । उनका अनुसार गत वर्ष ४२ करोड ५० लाख रुपैयाँ मूल्यको सुन्तला बिक्री भएको थियो ।










प्रतिक्रिया