जेनजी आन्दोलन पछिको क्षति: २० अर्ब बढीको माग दाबी, कुन बीमा कम्पनीमा कति पर्‍यो दाबी ?


जेनजी आन्दोलनका कारण जनधनको ठूलो क्षति भएपछि बीमा कम्पनीहरुमा मागदाबी पने क्रम उच्च देखिएको छ ।

जेनजी आन्दोलनका क्रममा संसद् भवनदेखि सरकारी कार्यालय, व्यापारिक घरानाहरू ध्वस्त हुँदा खर्बौंको क्षति भएको हो ।

नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्म विभिन्न निर्जीवन बीमा कम्पनीहरूमा १ हजार ९८४ वटा दाबी परका छन् । यसको दाबी रकम करिब २० अर्ब ७० करोड रुपैयाँभन्दा बढी पुगेको छ ।

बीमा कम्पनीमध्ये सबैभन्दा बढी दाबी ओरियन्टल इन्स्योरन्स कम्पनीमा परेको छ । यो कम्पनीमा ४० वटा दाबी दर्ता भई दाबी रकम करिब ५ अर्ब १४ करोड पुगेको छ ।

दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरन्स कम्पनी छ । यस कम्पनीमा २ सय ५८ दाबी दर्ता भएर ४ अर्ब ९३ करोड मागदाबी गरिएको छ ।

यसैगरी, शिखर इन्स्योरेन्समा २६६ दाबी भई २ अर्ब ३९ करोड दाबी भएको छ भने आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा २४ वटा दाबीबापत एक अर्ब ५९ करोड ६ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २३३ वटा दाबीबापत एक अर्ब ४७ करोड ५५ लाख, हिमालयन एभरष्ट इन्स्योरेन्समा १९६ वटा दाबीबापत एक अर्ब १५ करोड ६२ लाख र नेको इन्स्योरन्समा ४० वटा दाबीबापत एक अर्ब नौ करोड ५३ लाख रुपैयाँको कुल प्रारम्भिक बीमा दाबी परेकोे छ ।

प्राधिकरणका अनुसार सानिमा जिआइसी इन्स्योरन्समा १२९ वटा दाबीबापत ७८ करोड ९३ लाख, सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा १७२ वटा दाबीबापत ४९ करोड ५१ लाख, युनाइटेड अजोड इन्स्योरन्समा १७० वटा दाबीबापत ४८ करोड ५१ लाख रुपैयाँको कुल प्रारम्भिक बीमा दाबी परेको छ ।

नेपाल इन्स्योरेन्समा ७९ वटा दाबीबापत ४६ करोड ९४ लाख, एनएलजी इन्स्योरेन्समा १५१ वटा दाबीबापत ३८ करोड ५८ लाख, प्रभु इन्स्योरेन्समा ६९ वटा दाबीबापते १९ करोड १८ लाख र नेशनल इन्स्योरेन्समा १९ वटा दाबीबापत ६ करोड ८२ लाख रुपैयाँको कुल प्रारम्भिक बीमा दाबी परेको छ ।

साथै प्रोटेक्टिभ माइक्रोइन्स्योरेन्समा नौ वटा दाबीबापत एक करोड १३ लाख, स्टार माइक्रोइन्स्योरेन्समा ६ वटा दाबीबापत ६७ लाख, नेपाल माइक्रो इन्स्योरेन्समा १५ वटा दाबीबापत ५६ लाख र ट्रस्ट माइक्रो इन्स्योरेन्समा ८ वटा दाबीबापत ४२ लाख रुपैयाँको बीमा दाबी परेको छ ।

प्रकाशित मिति: ३ आश्विन २०८२, शुक्रबार  ०९ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।