पञ्चकन्या माई हाइड्रोपावरको बिद्युत बिक्री आय घटेपछि खुद नाफामा पौने २ करोड गिरावट

0
Shares

पञ्चकन्या माई हाइड्रोपावर कम्पनी (PMHPL) को खुद नाफा चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण अनुसार पौने २ करोड रुपैयाँले घटेको छ ।

अघिल्लो आवको पहिलो त्रैमासमा ४ करोड ७५ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीको नाफा चालु आवको यसै अवधिमा १ करोड ७५ लाख ३९ हजार ५३३ रुपैयाँले घटेर ३ करोड ३९ हजारमा खुम्चिएको हो ।

हाइड्रोपावरको आम्दानीको मुख्य स्रोत बिक्री आम्दानी घटेपछि खर्च नियन्त्रणका बाबजुत कम्पनीको खुद नाफा घटेको हो ।

कम्पनीले प्रकाशित गरेको असोज महिनासम्मको वित्तीय विवरण अनुसार विद्युत बिक्रीबाट १३ करोड ५० लाख २८ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले अघिल्लो आवको यसै अवधिमा १५ करोड ३२ लाख २७ हजार रुपैयाँ विधुत बिक्रीबाट आम्दानी गरेको थियो । कम्पनीको समीक्षा अवधिमा १९ करोडले विद्युत बिक्री आम्दानी घटेपनि नाफा समेत घटेको हो ।

कम्पनीले यस अवधिमा प्रशासनिक खर्चमा भने कटौती गरेको छ । कम्पनीले असोज मसान्तसम्ममा ९ करोड ६९ लाख ४३ हजार रुपैयाँ खर्च गरेको छ । अघिल्लो वर्ष कम्पनीले ९ करोड ९७ लाख रुपैयाँ प्रशासनिक खर्च गरेको थियो । कम्पनीले सञ्चालन गरेको पावर प्लान्टका लागि ५८ लाख १२ हजार रुपैयाँ खर्च गरेको छ । अघिल्लो वर्ष कम्पनीले यस शिर्षकका लागि ३४ लाख ५५ हजार रुपैयाँ खर्चेको थियो ।

चुक्ता पूँजी १ अर्ब १० करोड रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १०.९२ रुपैयाँ छ । जगेडा कोष १५ करोड ४५ लाख १९ हजार ऋणात्मक रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ८५.९५ रुपैयाँ मात्र रहेको छ । अघिल्लो आवमा ९ करोड ६६ लाख रुपैयाँले जगेडा कोष ऋणात्मक रहेको कम्पनीको जगेडा कोषको आकार ५ करोड ७९ लाख रुपैयाँले थप ऋणात्मक बनेको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।