काठमाडौँ । नेपाल राष्ट्र बैंकले धितोपत्र बजारमा लगानीकर्तालाई आकर्षित गर्न शेयर धितो कर्जाको ऋणको सम्पूर्ण सीमा नै खारेज गरिदियो ।
केही समय पहिला जोखिम भार (रिस्क वेट ) १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत, १५ करोड सीमा बढाएर २५ करोड पु¥याएको थियो । त्यसबाट पनि लगानीकर्ता आकर्षित नभए पछि सम्पूर्ण सीमा नै खारेज गरिदिएको हो ।
त्यस्तै राष्ट्र बैंकले बैंकहरुले शेयर एक वर्ष होल्ड गर्नु पर्ने व्यवस्थालाई घटाएर ६ महिनामा झारेको छ भने लगानी गरेको मध्येबाट बर्षदिनमा २० प्रतिशत मात्रै बिक्री गर्न पाउने व्यवस्था लाई खारेज गरेको छ ।
राष्ट्र बैंकले सेयर बजारलाई चलायमान बनाउन ल्याएका नयाँ नितिले बजारलाई छोएको छैन । राष्ट्र बैंकको नितिले बैंकहरुबाट शेयर धितो कर्जा बढेको छ । तर, त्यो कर्जा अन्य क्षेत्रमा नै प्रयोग हुन थालेको अनुमान लगाउन थालिएको छ ।
भदौसम्म शेयर धितो कर्जा (मार्जिन नेचर लोन) १ खर्ब ४५ अर्ब ६० करोड ९१ लाख रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको २ महिनामा बैंक तथा वित्तीय संस्थाहरुले शेयर धितोमा प्रवाह गर्ने कर्जा ३.५ प्रतिशतले बढेको हो ।
चालु आर्थिक बर्षको दुई महिनामा शेयर धितो कर्जा झण्डै ५ अर्ब रुपैयाँले बढेको हो । नेपाल राष्ट बैंकका अनुसार चालु आर्थिक वर्षको साउन र भदौ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट ४ अर्ब ९० करोड ७० लाख रुपैयाँ शेयर धितोमा थप कर्जा प्रवाह भएको छ ।
गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब ४० अर्ब ७० करोड रुपैयाँ बराबरको शेयर धितो कर्जा प्रवाह गरेका थिए । गत वर्षको यसै अवधिमा भने यस्तो कर्जा १०.७ प्रतिशतले बढेको थियो ।
भदौसम्ममा प्रवाह भएको शेयर धितो कर्जामध्ये १ करोड माथिको कर्जा मात्रै १ खर्ब २ अर्ब ३२ करोड रुपैयाँ बराबर पुगेको छ । यो गत असारको तुलनामा ३.४ प्रतिशत अर्थात ३ अर्ब ३९ करोड ६१ लाख रुपैयाँले बढी हो । असारसम्म १ करोड माथिको कर्जा लगानी ९८ अर्ब ९२ करोड रुपैयाँ रहेको थियो ।
यस्तै चालु आवको पछिल्लो दुई महिनामा ५० लाखदेखि १ करोडसम्मको शेयर धितो कर्जा ११.७ प्रतिशतले बढेर १७ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । पछिल्लो २ महिनामा यो रेन्जमा थप १ अर्ब ८७ करोड कर्जा विस्तार भएको देखिन्छ ।
यस्तै, २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको शेयर धितो कर्जा भने १.७ प्रतिशत घटेर १७ अर्ब २६ करोड रुपैयाँ खुम्चिएको छ । २५ लाख रुपैयाँसम्मको शेयर धितो कर्जा ०.८ प्रतिशतले घटेर ८ अर्ब ११ करोडमा खुम्चिएको छ ।
राष्ट्र बैंकको यो तथ्यांकले ठूलो आकारको शेयरधितो कर्जा लिनेहरु बढेका छन् भने सानो आकारको कर्जा लिनेहरु घटेको देखाएको छ । कर्जाको रकम बढेतापनि सेयर बजारको ओरालो यात्रा भने जारी छ । भदौमा मात्रै शेयर बजारको कारोबार मापक सूचक ४.१६ प्रतिशतले घटेको छ ।
सेयर धितो कर्जा बढ्दा बजारमा लगानी बढ्नुपर्ने भएतापनि बजारमा आउने भन्दा धेरै पैसा बाहिर गएकोले लगानी बढ्न नसकेको स्टक ब्रोकर एशोसियशनका अध्यक्ष सन्तोष मैनाली बताउँछन् ।
‘यसवर्ष संस्थापकको सेयरमा कन्भर्ट भएको छ । हकप्रद सेयर, आइपीओ सूचिकृत धेरै भएको हुनाले कर्जाबाट बजारमा भित्रिने पैसा भन्दा बाहिरिने पैसा ठूलो भएको भएको सेयर कर्जाको असर नदेखिएको हो’ उनले भने ।
कर्जा सेयर बजारमा आएको भएतापनि कर्जा लिएर सेयर किन्नेले संस्थापक सेयरमा लगानी गरेकोले सेयरकर्जा अन्य ठाउँमा लगानी गरिएको आशंका भएको उनले बताए । उनले भने, ‘लगानीकर्ताहरुले सेयरकर्जा लिएर संस्थापक सेयर किन्छन् । संस्थापकहरुले बाहिर पैसा लगेर नयाँ ‘प्रोजेक्ट’ सुरु गर्छन् । पहिला सेयर बेच्ने लगानीकर्ताले फेरी अर्को सेयर किन्ने चलन थियो । जसले गर्दा बजारमा नै पैसा चलायमान हुन्थ्यो । अहिले संस्थापक सेयरमा लगानी बढेकोले पैसा बाहिरिएको हो । ’
देशमा आएको नयाँ परिवर्तनले सेयर बजारलाई असर गरिरहेको उनले बताए ।












प्रतिक्रिया