सेयर बजार परिसुचकमा सामान्य अंकको सुधार, कारोबार रकममा भने गिरावट


काठमाडौं । सेयर बजार परिसुचकमा सामान्य अंकको सुधार आएको छ । आइतबार सेयर बजार परिसुचक नेप्से ५.१९ अंकले बढेर २५०९.०४ अंकमा पुगेको हो ।

नेप्से परिसुचकमा सुधार आएपनि कारोबार रकममा भने गिरावट कायम रहेको छ । आइतबार कारोबारमा आएका ३१३ ओटा कम्पनीका ५५ लाख ९६ हजार ७७ कित्ता सेयरहरु २७ हजार ८९९ पटक किनबेच हुँदा २ अर्ब ६६ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसअघि कारोबार भएको गत साताको आइतबार अर्थात कात्तिक २ गते नेप्से १६.६७ अंकले बढेर २५०३.८५ अंकमा पुग्दा कारोबार रकम २ अर्ब ६८ करोड ५२ लाख रुपैयाँ पुगेको थियो ।

आइतबार समग्र बजारमा सुधार आएपनि तारागाँउ रेजेन्सी होटलको सेयर मूल्य सबैभन्दा बढी ७.१६ प्रतिशतको गिरावट आएको छ । भगवती हाइड्रोपावरको सेयर मूल्य ७.१३ प्रतिशतले घटेको बजारमा एसीयन हाइड्रोपावरको सेयर मूल्य ५.१६ प्रतिशत, उन्नती सहकार्य लघुवित्तको सेयर मूल्य ४.७२ प्रतिशत र आत्मनिर्भर लघुवित्तको सेयर मूल्य ४.६२ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा नेपाल रिइन्स्योरेन्स ३२ करोड ४९ लाख ६१ हजार रुपैयाँको कारोबार सहित शीर्ष स्थानमा रहेको छ । कारोबारमा आएका इकाई संख्याको आधारमा युनियन हाइड्रोपावर ३ लाख ७५ हजार ८११ इकाईको कारोबार सहित अग्र स्थानमा रहेको छ । कारोबार संख्याको आधारमा हिमालयन डिस्ट्रिलरी ९३९ पटकको कारोबार सहित शीर्ष स्थानमा रहेको छ ।

आइतबारको कारोबारसँगै कुल बजार पूँजीकरण ४१ खर्ब ९४ अर्ब ४५ करोड ४२ लाख रुपैयाँ कायम भएको छ । गत कारोबार दिन २ गते कुल बजार पूँजीकरण ४१ खर्ब ८५ अर्ब ७७ करोड ३३ लाख रुपैयाँ कायम भएको थियो ।

 

प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार  १५ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।