धितोपत्र व्यवसायीले नाफाको एक प्रतिशत रकम सामाजिक उत्तरदायित्व कोषमा छुट्याउनुपर्ने

0
Shares

नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायीलाई नाफाको एक प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्याउन निर्देशन दिएको छ।

बोर्डले धितोपत्र बजारसम्बद्ध केन्द्रीय निक्षेप कम्पनी, क्रेडिट रेटिङ्ग संस्था, धितोपत्र दलाल तथा धितोपत्र व्यापारीहरुलाई आफ्नो खुद मुनाफाको कम्तिमा एक प्रतिशत रकम छुट्टयाई संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यमा खर्च गर्न निर्देशन दिएको हो ।

बोर्डले धितोपत्रको प्राथमिक बजार देशभर ७७ जिल्लामा नै पुगी एउटै प्रारम्भिक सार्वजनिक निष्काशनमा १० लाखभन्दा बढी लगानीकर्ताको सहभागिता भइरहेको, दोस्रो बजारमा समेत अनलाइन प्रणालीको प्रयोग भई देशका प्रमुख शहरबाट कारोवार गर्न सक्ने व्यवस्था भएको र बजारमा नयाँ लगानीकर्ताको प्रवेश समेत बढ्दै गइरहेको सन्दर्भमा प्रविधिमैत्री हुने गरी लगानीकर्ता शिक्षा तथा सचेतनामा विशेष जोड दिनुपर्ने भएको भन्दै धितोपत्र व्यवसायीलाई संस्थागत सामाजिक उत्तरदायित्व कोषमा रकम छुट्याउन भनेको हो।

मर्चेन्ट बैंकरका सन्दर्भमा संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी व्यवस्था कार्यान्वयनमा आइसकेको बोर्डले जनाएको छ ।

धितोपत्र व्यवसायीको खुद मुनाफाबाट एक प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्टयाउने र उक्त कोषमार्फत् लगानीकर्ताको ज्ञान तथा सचेतना अभिबृद्धि गर्ने कार्यका लागि आवश्यक बजेटको व्यवस्था भई लगानीकर्ताका लागि धितोपत्र बजारसम्बन्धी शिक्षा तथा सचेतना अभिबृद्धि कार्यक्रम संचालन हुने जसबाट लगानीकर्ताले सूसुचित निर्णय लिन सहयोग पुगी लगानीकर्ताको हित हुनुका साथै बजार विकास विस्तारमा समेत सहयोग पुग्ने बोर्डको अपेक्षा रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।