वीरगञ्ज भन्साार नाका : विद्युतीय सवारीसाधन आयातमा बृद्धि


काठमाडौँ । चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै ६८ करोड ५ लाख रुपैयाँ पर्ने दुई सय २९ विद्युतीय जीप,कार र भ्यानहरु आयात भएका छन् ।

गत आर्थिक वर्षको तीन महिनाका तुलनामा चालु आवको सोही अवधिमा भने विद्युतीय सवारीसाधनको आयात ह्वातै बृद्धि भएको छ । गत आवको तीन महिनामा भने ९७ मात्रै विद्युतीय जीप,कार र भ्यानहरु आयात भएको थियो ।

सर्वसाधारणको विद्युतीय सवारीसाधनप्रतिको आकर्षण र चीनको सीमा नाका हुँदै आउने सडकको अवस्था दयनीय भएपछि यो नाका हुँदै हुने आयातमा बढोत्तरी भएको हो । चालु आवको तीन महिनामा विद्युतीय जीप,कार र भ्यान आयातबाट ४५ करोड ७२ लाख राजस्व सङ्कलन भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवाली पनि पछिल्लो समय विद्युतीय सवारीसाधनको आयातमा उल्लेखनीय वृद्धि भएको बताए । गत आवको तीन महिनाको अवधिमा भने वीरगञ्ज नाका हुँदै १४ करोड ४९ लाख रुपैयाँ पर्ने ९७ वटा विद्युतीय जीप,कार र भ्यानहरु आयात भएको थियो । सो अवधिमा विद्युतीय सवारीसाधनआयातबाट रु नौ करोड ११ लाख मात्रै राजस्व सङ्कलन भएको थियो ।

चालु आवको तीन महिनामा २८ करोड ७९ लाख रुपैयाँ पर्ने दुई हजार एक सय ९४ विद्युतीय मोटरसाइकल आयात भएको छ । जबकी गत आवको तीन महिनाको अवधिमा भने २१ करोड १७ लाख रुपैयाँ पर्ने एक हजार चार सय ८१ विद्युतीय मोटरसाइकल आयात भएको थियो ।

प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार  १२ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।