स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना बीमा दाबी भुक्तानीका लागि पेश भएका बीमितको विवरण नमिल्दा भेरिफिकेशन गर्न समस्या आएको भन्दै सूचना जारी गरेको छ ।
मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै कोरोना बीमाको दाबी भुक्तानीमा बीमितको विवरण नमिल्दा भेरिफिकेशनमा समस्या आएको जनाएको हो ।
कोरोना बीमा दाबीका लागि पेश भएका विवरणहरु भेरिफिकेशन गर्दा कतिपयको नाम, थर, उमेर, ठेगाना र पिसिआर नतिजा रिपोर्ट मिति जस्ता न्यूनतम विवरण अपुर्ण भएको र कतिपय व्यक्तिहरुको विवरणहरु मन्त्रालयमा रहेको तथ्यांकसँग रुजु गर्दा भेटाउन नसकिएको मन्त्रालयका प्रमुख समिर कुमार अधिकारीले बताए ।
बीमितहरुले भेरिफिकेशनको अवस्थाको जानकारी सम्बन्धित बीमा कम्पनीबाट लिन मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयले प्रयोगशालाहरुले परीक्षण नतिजा दिँदा वा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा दैनिक प्रतिवेदन पेश गरेको मिति अनुसार वास्तविक नतिजा प्रदान गर्न परीक्षण ल्याबलाई पनि अनुरोध गरेको छ ।
मन्त्रालयले बीमा समितिबाट जारी भएको कोरोना बीमा मापदण्ड अनुसार समितिबाट प्राप्त भएका बीमितहरुको विवरणहरु भेरिफिकेशन गर्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ । हालसम्म ९ हजार ३९२ जनाको भेरिफिकेशन सम्पन्न भएको मन्त्रालयको तथ्यांक छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया