व्यक्तिगत स्थायी लेखा नम्बर अनलाइनबाट, सेवाग्राहीलाई सहजता


काठमाडौँ । व्यक्तिगत स्थायी लेखा नम्बर (प्यानकार्ड) प्राप्त गर्ने प्रक्रियामा अनलाइन भएसँगै सेवाग्राहीलाई सहज भएको छ । सर्वसाधारणले घरैबाट अनलाइन मार्फत प्यान नम्बर लिन सक्ने व्यवस्था भएसँगै कार्यालय धाउनुपर्ने र लाइन बस्नुपर्ने झन्झन्ट अन्त्य भएको हो ।

यसअघि प्यान नम्बर प्राप्त गर्न घण्टौँ लाइन बस्नुपर्ने बाध्यता थियो । आन्तरिक राजस्व विभागले प्रदान गरेको यस सुविधा अनुसार, विभागको वेबसाइट र मोबाइल एप मार्फत आफ्नो व्यक्तिगत विवरण र नागरिकताको फोटो अपलोड गरी सहजै आवेदन दिन सकिन्छ । यसरी उपलब्ध हुने प्यान नम्बर तुरुन्तै प्रयोगमा ल्याउन सकिने हुँदा कार्ड प्राप्त गर्ने प्रक्रिया निकै छिटो र झन्झटमुक्त भएको छ ।

व्यक्तिगत प्यान कसरी लिने?

नेपाल सरकारले आर्थिक वर्ष २०७६/०७७ देखि नियमित तलब, सुविधा लिने सम्पूर्णलाई व्यक्तिले अनिवार्य रुपमा व्यक्तिगत स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था गरेको छ । स्थायी लेखा नम्बर अनलाईन रजिष्ट्रेसन गर्दा कार्यालयमा पुगेर लाईन लाग्नुपर्ने समय बचत हुनुका साथै अरु व्यवहारिक झन्झटबाट मुक्ति मिल्छ । आन्तरिक राजस्व विभागको अनलाईन पोर्टलबाट व्यक्तिगत स्थायी लेखा नम्बरको लागि अनलाईन फर्म भर्न सकिन्छ । अनलाईन फाराम भरिसकेपछि सब्मिसन नम्बर (फर्म भर्ने क्रममा अनलाईन सिस्टमबाट प्राप्त हुने नम्बर) सम्बन्धित कार्यालयबाट भेरिफाई गराई व्यक्तिगत प्यान कार्ड प्राप्त गर्न सकिन्छ ।

केके चाहिन्छ फारम भर्नका लागि ?

व्यक्तिगत प्यान कार्डका लागि अनलाईन आवेदन गर्दा आफ्नो पासपोर्ट साइजको फोटो र नागरिकता प्रमाण पत्रको दुवैतिरको भाग सिस्टममा अपलोड गर्नुपर्ने हुन्छ । त्यसैगरी आवश्यक विवरणहरु भर्नुपर्ने हुन्छ ।

फारम भर्ने तरिका

आन्तरिक राजस्व विभागको वेबसाइट (आइआरडी डट जीओभी डट एनपी) खोल्ने । त्यसमा रहेको ट्याक्सपेयर पोर्टल क्लिक गरेपछि खुल्ने पेजको दायाँतिर रजिष्ट्रेसन देखिन्छ ।

रजिष्ट्रेसन अप्सन अन्तर्गत देखिने दुईवटा अप्सनमध्ये एप्लिकेसन फर रजिष्ट्रेसनमा क्लिक गर्ने । यसपछि सब्मिसन नम्बर लिने फर्म देखिन्छ । त्यसमा युजरनेम, पासवर्ड, सम्पर्क नम्बर, इमेल आईडी भर्ने ।

रजिष्ट्रेसन फर अन्तर्गत देखिने अप्सनमध्ये पर्सनल प्यान छान्ने । भेरिफाइङ अफिस मध्ये आफुले स्थायी लेखा नम्बर लिने आन्तरिक राजस्व कार्यालय अथवा करदाता सेवा कार्यालय रोजेर लिस्टबाट एउटा छान्ने । सबै विवरण भरिसकेपछि ओके बटन क्लिक गर्ने ।

नयाँ पेजमा सब्मिसन नम्बर प्राप्त हुन्छ । (यो नम्बर प्यान कार्डको लागि भरेको विवरण भेरिफाई गर्न आवश्यक पर्दछ) नम्बर आएसँगै कन्ट्निन्यू बटन क्लिक गरेपछि व्यक्तिगत विवरण भर्ने फर्म खुल्छ ।

फोटो अपलोड गरी व्यक्तिगत विवरण भर्ने । नागरिकता वा पासपोर्ट अपलोड गर्नका अपलोड बटन क्लिक गर्ने । सम्पूर्ण विवरण भरिसकेपछि अन्त्यमा सेभ गरी सब्मिट गर्ने । प्रिन्ट अप्सनको सहायताले फर्म प्रिन्ट गर्न सकिन्छ ।

फर्म प्रिन्ट गरेर हार्ड कपी वा सब्मिसन नम्बर लिएर सम्बन्धित कार्यालयमा गई भेरिफाई गरिसकेपछि प्यान कार्ड प्राप्त गर्न सकिन्छ ।

प्रकाशित मिति: २८ कार्तिक २०८२, शुक्रबार  १४ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।